फूलमा नेपाल आत्मनिर्भर, तिहारमा भारतबाट आयात नहुने

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । 

मागअनुरुप उत्पादन भएकाले आयातीत फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।  विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्नेछ ।

स्थानीय फूल फुलिरहेका छन्, ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एसोसिएसनलेका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ । 

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड फूलको कारोबार हुने गरेको थियो । श्रेष्ठले भने, ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोबारमा केही कमी हुन्छ ।’ अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । 

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १७:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया