'अर्डर' गरेकाे चिनियाँ सामानमा लगानी डुब्दा व्यापारी निरास, चिनियाँ ज्यादती कि नेपालको कूटनीतिक असफलता ?

कोरोना भाइरसको जोखिम कम गर्न भन्दै दसैँ–तिहारको समयमा चीनले नेपाली सामान रोकिदिएपछि सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरे । पौडेलको आत्महत्यापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले नाकामा सामान रोकिनु नै उनको आत्महत्याको प्रमुख कारण रहेको पत्ता लगाएको छ । 

व्यापारीहरुका लागि सबैभन्दा हर्षको मौसम दसैँ मानिन्छ । तर, यो वर्ष दसैँ–तिहारको समयमा बजार सुनसान रहँदा व्यापारीहरुको आम्दानी पनि शून्यप्रायः रह्यो । यही निराशाका बीच पौडेल आत्महत्या गर्न बाध्य भए । 

‘यो प्रतिनिधिमुलक घटना मात्रै हो । यतिबेला लामो समयदेखि सामान मगाएर उतै अड्किएका अधिकांश व्यवसायीहरु निराशाजनक अवस्थामा छन्,’ चीनबाट सामान आउने प्रमुख नाका रसुवागढी भन्सार कार्यालयका एक कर्मचारीले भने ।

गत वर्षको माघ महिनादेखि चीनको केरुङमा रोकिएको सामान अहिलेसम्म आउन नसक्दा यतिबेला कैयौँ व्यापारी निरास बनेका छन् । २०७६ माघ अर्थात् डिसेम्बर २०१९ मा चीनमा कोरोना भाइरसको संक्रमण देखिएसँगै रोकिएका मालबाहक कन्टेनर नेपाल आउन सकेका छैनन् । 

नेपाली व्यापारीले गत वर्षकै गर्मी मौसमका लागि चीनका विभिन्न सहरमा ‘अर्डर’ गरेका सामान नेपाल आउन नसक्दा व्यापारीको ठूलो लगानी लगभग डुबिसकेको छ । धेरै व्यापारी डुबिसकेको अवस्थामा राज्यले कानमा तेल हालेर सुतेको नेपाल–चीन उद्योग वाणिज्य संघका महासचिव विवेक पौडेलको आरोप छ । 

उनले भने, ‘हाम्रो सामान त कामै नलाग्ने अवस्था भइसकेको छ । त्यही पनि वारि नल्याएर कहिलेसम्म राख्ने हो ? सरकार भएको के मतलब ? अनि हाम्रा व्यापारीले आत्महत्या नगरे के गर्ने ?’



सरकारी स्तरबाट काम भइरहेको होला भनेर यसअघि आशा गरेको, तर अब त्यस्तो आशा मरेको बताउँदै उनले भने, ‘सरकारले त कर लिने आफ्नो भुँडी भर्ने काम मात्रै गर्दो रहेछ । हामीमाथि भइरहेको चिनियाँ पक्षको यस्तो ज्यादतीविरुद्ध एक शब्द बोल्ने आँट नै छैन ।’

चिनियाँ ज्यादती कि नेपालको कूटनीतिक असफलता ?



कोरोना संक्रमण बढेको कारण देखाउँदै गत माघ १५ गतेदेखि बन्द गरिएको केरुङ नाका ६ महिनापछि गत साउनमा मात्रै खोलियो । औपचारिक बन्दको समय लामो समय रोकिँदा विभिन्न मालबाहक कन्टेनरमा रहेको सामान बिग्रिने जोखिम बढेपछि नेपाली पक्षको पटक–पटकको आग्रहपश्चात एकैचोटि गत साउनमा नाका खोलिएको थियो । 

तर, त्यसको एक महिना नबित्दै गत भदौ दोस्रो साता एकजना नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि केही दिनका लागि भन्दै बन्द गरिएको नाका खुलाउन फेरि नेपाली पक्षलाई सकस पर्यो । तीन सातापछि असोज ९ गते मात्रै दैनिक ५ वटा कन्टेनर नेपाल भित्रिन दिने सर्तसहित नाका खोलियो । 

लामो समयदेखि धेरै सामान जम्मा भइसक्दा पनि थोरै सामान मात्रै भित्रिए सामान बिग्रिने भन्दै नेपाली पक्षले पटक–पटक ‘अनुनयविनय’ गरेपछि केही दिनमा १० देखि १२ कन्टेनर सामान नेपाल ल्याउन दिने सहमति भयो । तर, २६ हजार मात्रै ढुवानी सेवा तिरिरहेका व्यापारीका लागि केरुङबाट नेपाली सीमासम्म सामान पुर्याउनका लागि १२ लाखभन्दा बढी ढुवानी शुल्क तिर्नुपर्ने बाध्यता थपियो । 

त्यसअघि सामान्य अवस्थामा नेपाली कन्टेनरले करिब २६ हजार ढुवानी भाडा तिरेर केरुङसम्मै पुग्ने अनुमति पाउँथे  । अहिले कोरोना जोखिमको कारण देखाउँदै नेपाली कन्टेनर जान नदिएपछि केरुङबाट मितेरीपुलसम्म उनीहरुकै कन्टेनरमा सामान ल्याउँदा ७० हजार चिनियाँ युआन तिर्नुपर्ने चिनियाँ पक्षले सर्त राखेको छ ।

लामो समय लगानी डुबेर निरास बनेका व्यपारीले ढुवानीमै यति चर्को मूल्य तिर्दा अवस्था गम्भीर बनेको भन्सारका कर्मचारीहरु बताउँछन् ।

रसुवागढी भन्सार कार्यालयका एक कर्मचारी भन्छन्, ‘अब त कतिपय व्यापारी ढुवानी तिर्नुभन्दा सामान नै ल्याउन नसक्ने भन्न थालिसकेका छन् । यो अवस्थाभन्दा गम्भीर के होला ?’

हालको विनिमय दरअनुसार एक युआनको साढे १७ रुपैयाँ हुन्छ । यसअनुसार २४ किलोमिटरको ढुवानी भाडा नेपाली व्यवसायीले १२ लाख २५ हजार रुपैयाँ तिनुपर्ने बाध्यता छ । यसमा रसुवागढीदेखि काठमाडौंसम्मको ढुवानी भाडा जोड्दा एक कन्टेनरको ढुवानी भाडा झन्डै १५ लाख हुनेछ ।

यो अत्यन्तै ज्यादती भएको रसुवागढी भन्सार कार्यालयका कर्मचारी नै बताउँछन् । फरकधारसँगको कुराकानीमा एक कर्मचारी भन्छन्, ‘हामीसँग उनीहरु अट्टिट्युड देखाउँछन् । नेपालीहरु कमजोर छन्, पेल्न सकिन्छ भनेर पेलिरहेका हुन् । व्यापारिक हिसाबले यो नाकाबन्दीभन्दा पनि ज्यादती हो ।’

रसुवागढी भन्सार कार्यालयका अनुसार माघ महिनाअघि नै अर्डर गरेको १५ देखि २० अर्बबराबरको झण्डै २ हजार कन्टेरनर सामान केरुङ पारि रोकिएको छ । यसमध्ये पछिल्लो महिना दैनिक १० देखि १२ कन्टेनरका दरले झण्डै ४ सय कन्टेनर भने नेपाल भित्रिसकेका छन् ।

व्यापारी र भन्सार कार्यालयका कर्मचारीले नै चिनियाँ पक्षको ज्यादतीविरुद्ध सरकार बोल्नै नसकेको बताइरहे पनि कुटनीतिक पहल गर्नुपर्ने परराष्ट्र मन्त्रालय भने मौनप्रायः छ । परराष्ट्र मन्त्रालयले केरुङ नाकामा देखिएको समस्याबारे खास पहल नगरिरहेको पररराष्ट्रकै अधिकारीहरु बताउँछन् । 

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सचिवालयका एक अधिकारीले भने सामान नेपाल ल्याउनका लागि मन्त्रालयले कुनै कसर बाँकी नराखेको बताए । 

उनले फरकधारसँग भने, ‘मन्त्रीज्यू नै नाकाहरुमा पुगेर अवलोकन गरिरहनुभएको छ । उहाँले यो केसलाई ‘सिरियसली’ लिनुभएको छ । हामीले नाका खुलाउने विषयमा पहल गरेकै कारण पछिल्लो महिना खुलेको हो ।’

ढुवानी भाडा नै चर्को भइरहेको, तर सरकारी पहल नभएको व्यापारीहरुको गुनासोका सन्दर्भमा उनी भन्छन्, ‘यस्तो बेला यो स्वाभाविक हो । हामीले नाका खुलाउने हो, भाडा सस्तो महँगोको कुरा व्यापारीको कुरा हो ।’

  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १९:१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया