जनकपुरमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध प्रदर्शन

बारामा स्थानीयसँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका रञ्जन यादवको न्यायका लागि जनकपुरमा प्रदर्शन गरिएको छ ।

शनिबार साँझ जनकपुरको जनकचोकमा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध प्रदर्शन गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा)सँग आबद्ध युवाहरुले ‘रञ्जन यादवलाई न्याय देऊ’, ‘गोली चलाउने प्रहरीलाई कारबाही गर्’जस्ता नारा लगाएका छन् ।

स्थानीयले भारतीय बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा प्रहरीले नियन्त्रणमा लिएपछि कात्तिक १२ मा बाराको सुवर्ण गाउँपालिकामा झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय रञ्जन यादव घाइते भएका थिए । अवस्था गम्भीर रहेका उनको उपचार वीरगञ्जस्थित बयोधा अस्पतालमा भइरहेको छ ।

तस्करलाई नसमात्ने, तर घरायसी सामान ल्याउँदा मधेसी भएकै कारण सीमामा खटेका प्रहरीले दुःख दिने गरेको स्थानीयको आरोप छ । प्रदर्शनमा सहभागी जसपाका युवा नेता प्रशान्त झाले सामान्य अवस्थामा गोली चलाउने प्रहरीलाई निलम्बन गर्नुपर्ने माग गरे ।

गोली चलाउने प्रहरी र कमाण्डरलाई कारबाही नगरे कडा आन्दोलन गर्ने प्रदर्शनकारीले चेतावनी दिएका छन् । घाइते रञ्जनको उपचारको व्यवस्था मिलाउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १९:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया