प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले नेकपा फुट्ने संकेत गरेका थिए ।
सोही सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताएका हुन् । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने सम्भावना नरहेको जिकिर गरेका हुन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच मूलतः कर्णाली प्रदेश सरकारको विषयमा छलफल केन्द्रित भएको उनले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीलाई ठीक ढंगले अगाडि बढाउनुपर्छ भन्ने विषयमा प्रचण्डसँग छलफल भएको बताए ।
लामो समयदेखि बालुवाटारबाट बाहिर ननिस्केका ओली आइतबार गोदावरीमा निर्माण भइरहेको अन्तराष्ट्रिय सभाहलको निरीक्षण गर्न त्यहाँ पुगेका थिए ।
आइतबारै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको भन्दै सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्नु र आफूसँगको भेटमा प्रधानमन्त्रीले सँगै अघि बढ्न सकिने भनेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ आउनुले नेकपाभित्रको गम्भीर संकटलाई चित्रण गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।