व्यापारी कुर्दै सल्यानका सुन्तला

सल्यानकाे बागचौर नगरपालिका वडा नं. १० सयाल गाउँ, जुन गाउँलाई सुन्तला गाउँ भनेर पनि चिनिन्छ । करिब डेढ सय घरधुरीको बसोवास रहेको उक्त गाउँको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो । हरियो बोटमा पहेँला बन्न सुरु गरेका सुन्तलाले गाउँलाई नै सुन्दर बनाएको छ । 

हरियो बोटमा पहेँलिँदै गइरहेका सुन्तलाले गाउँलाई जति सुन्दर देखाउँदै गइरहेको छ, किसानको मनलाई पनि उत्तिकै खुसी पारेको छ । सुन्तला पाक्न थालेपछि किसान सुन्तला बोट र फल हेर्दै मख्ख परिरहेका छन् । तर, सुन्तला पाक्न थाले पनि सुन्तला थाम्न व्यापारी बारीमा अझै नपुग्दा किसान उत्तिकै दुःखी देखिन्छन् । 

पाक्न सुरु गर्यो कि सुन्तला थाम्न बारीमा पुग्ने व्यापारी अझै गाउँ नपस्दा यो वर्ष सुन्तला बोटमै कुहिन्छ कि भन्ने पिर किसानलाई छ । व्यापारी अझै बारीमा नफर्किंदा सुन्तला बिक्री हुँदैन कि, भन्ने  मनमा चिसो परेको छ ।  स्थानीय किसान मोहन केसीले भने– ‘व्यापारी अझै फर्किएका छैनन् । पाक्दै गरेका सुन्तला हेरेर व्यापारी आउँछन् कि भन्ने आशा छ ।’ 
 
कोरोना महामारी व्यापार व्यावसाय प्रभावित हुँदा व्यापारी गाउँ नफर्किएका हुन् कि भन्ने उनलाई लागेको छ ।  जसका कारण सुन्तला बारीमा व्यापारी कुर्दै बसिरहनुपरेको उनले सुनाए । उनले थपे – ‘आधा हावाहुरीले खायो, आधा रोगले लग्यो, बचेको जे–जति छ, त्यो पनि व्यापारी नआउँदा बिक्री हुँदैन कि भन्ने चिन्ता छ ।’ 

जसका कारण किसानहरु पाक्दै गरेको सुन्तलाको बोट हेर्दै व्यापारी पर्खिरहेका छन् । एक महिना सुन्तला बेचेर ११ महिना जोहो टार्ने सयाल गाउँवासीलाई कोरोना महामारीले सुन्तला लैजान्छ कि भन्ने चिन्ता छ । व्यापारी बारीमा आए मात्रै गाउँका सुन्तला बजार जान्छन् । घरमा पैसा भित्रिन्छ । 

बेच्ने बजार छैन 

‘न सडक सुविधा न व्यापार चल्ने बजार नै छन् । दाङ, बाँकेका व्यापारी आउछन् । त्यहाँबाट नआए सुन्तला बारीमै कुहिन्छन् । उत्पादन हुन्छ, तर सडक र बजार अभावमा त्यस्तै राख्नुपर्छ वा व्यापारी कुर्नुपर्छ,’ केसीले भन्नुभयो– ‘मुस्किलले नुन–तेल गाउँमा आउँछ । मोटर र बजार अभावका कारण उत्पादन बजार जाँदैन ।’ 



सल्यान कर्णाली प्रदेशको पहाडी जिल्ला हो । जहाँ अझै  सडक पूर्वाधारको विकास र यातायात सेवा सहज छैन । जसका कारण किसानलाई बाली बेच्न अप्ठ्यारो परिरहेको उनले सुनाए । सल्यान सुन्तला उत्पादनका प्राख्यात जिल्ला हो । उत्पादन प्रशस्तै हुने भएकाले पनि स्थानीय बजारमा सुन्तलाको मूल्य नपर्ने उनको भनाइ छ ।

व्यापारी गाउँ भित्रिए पनि किसानले तोकेको मूल्यमा सुन्तला बिक्री नहुने उल्लेख गर्दै उनले भने, ‘व्यापारीको मूल्यमा हाम्रो माल फाल्नुपर्छ । जुन बजार र सडकको अभावका कारण हो ।’



माल हाम्रो तर मूल्य व्यापारीको

‘बजार र ढुवानी अभावमा सुन्तला व्यापार आफैँले गर्न पाइँदैन । पोहोर ६२ रुपैयाँ किलो व्यापारीले दिए । अहिले त्यो पनि पाउँछौ कि पाउँदैनौँ, व्यापारी आउँछन्, आफैँले मूल्य तोक्छन्, लैजान्छन,’ केसीले भने, ‘सहज ढुवानी र स्थानीय बजारमा सुन्तला खपत हुने भए किसानले परिश्रमको फल पाउने थियौँ । तर त्यो छैन । व्यापारी आफैँले  मालको मूल्य तोक्छन् ।’ 

किसान महिला खुमा केसीले भनिन्, ‘बजार मिल्थ्यो त यो समस्या किसानले भोग्नुपर्ने बाध्यता थिएन ।’ व्यापारीले मूल्य तोक्दा किसानले सोचेअनुरुप मूल्य पाउन नसकेको उनको गुनासो छ । 

  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार २०:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया