छिया–छिया छ, घोराहीको केन्द्रबिन्दुु

वरिपरि खाल्टाखुल्टी, बीचमा चिल्लो मार्वलको पिलर, जसमा टाँसिएको छ, आदिकवि भानुभक्त आचार्यको तस्बिर । आचार्यको शालिक स्थापनाका लागि यो पिलर राखिएको भए पनि अहिले नमुनाका रूपमा तस्बिर राखिएको हो । तस्बिर धुलाम्ये देखिन्छ । जहाँ धुलो उडाउँदै र खाल्टामा उफ्रिँदै केही वर्षदेखि सवारी साधन दौडिरहेका छन् ।

घोराही बजार आउने जाने जोकोही वा भानुचोक वरिपरि बसोबास गर्ने स्थानीयहरू केही वर्षदेखि धुलो हिलोको सास्ती खेप्दै छन् । घोराहीको तुलसीपुर चोक जसलाई अहिले भानु चोक भनिन्छ । यो घोराहीको केन्द्रविन्दु हो । तर, जसको अवस्था अझै नाजुक छ ।

वर्षौंदेखि ग्राभेल हाल्ने र बर्खा टार्ने कामले घोराहीको यो चोक कुरुप देखाइरहेको घोराही–६ बचाहाका प्रेम डाँगीले बताए । उनले भने, ‘पानी परे हिलो हुन्छ, घाम लागे धुलो । गाडीले बुरुक्क–बुुरुक्क उफार्छ सुत्केरी, शल्यक्रिया गरेका बिरामीको बिजोक हुन्छ ।’ स्थानीय सरकार, सम्बन्धित कार्यालय लगायतको चरम लापरबाहीका कारण तुलसीपुर चोकको नाम फेरिए पनि मुहार फेरिन सकेको छैन ।

नाम मात्रै फेर्ने भो ? 

घोराही उपमहानगरपालिकाले कार्यपालिका बैठकबाट पारित गरी घोराही चोक राख्ने निर्णय ग¥यो । घोराहीको पहिचान घोडाको प्रतिमा राख्ने तयारी पनि भयो । जसका लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि सुरु भयो । तर, अहिले भानुचोक नामकरण गरिएको छ । पटक–पटक नाम फेर्ने प्रयास भए पनि चोकको मुहार फेर्न भने कसैले पहल गरेन । स्थानीय राकुमार शिल्पकारले भने, ‘पटक–पटक नाम मात्रै फेर्ने चर्चा गरियो, काम उस्तै छ ।’ चोकको बेहालका कारण सबैले दु:ख भोगिरहेकाले स्थानीय सरकार निकै सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ छ ।

अब बन्छ : मेयर



तुलसीपुर चोकको निर्माणाधीन काम स्थानीय अवरोधका कारण रोकिएको थियो । फोरलेनको सडक निर्माण गर्दा स्थानीयको उठिबास लाग्ने भन्दै अदालतमा मुद्दा पनि दायर भयो । अदालतले जनताको जीवन, धनको रक्षासहित फैसला सुनाइसकेकाले निर्माणको काम तत्काल सुरु हुने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । त्यस्तै सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले पनि सडक निर्माणको जिम्मा दिइसकेको जानकारी दिए ।



  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १६:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया