गत २ माघमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा हड्डी अड्किएर उपचारका क्रममा मृत्यु भयो । विगत १० वर्षदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत डा. सिंहको मृत्यु स्वाभाविक मृत्यु नभएर आफ्नै सहकर्मी चिकित्सकको लापरबाहीले भएको ठहर गर्दै उनको परिवार अदालत पुगेको छ ।
मृतक डा. सिंहकी श्रीमती वीणा सिंहले आइतबार अर्थात् १६ कात्तिकमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गराएकी छन् । पीडित परिवारले उपचार खर्चसहित कुल १२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको हो ।
०७६ भदौ १०का दिन डा. ज्ञानेश्वरप्रसाद सिंह आफ्नी पत्नीसित एक पार्टीमा गएका थिए । पार्टीमा खाना खाँदै गर्दा उनको घाँटीमा मासुको हड्डी अड्कियो । यो राति ९ बजेको घटना हो । उनलाई तत्कालै युनिभर्सल मेडिकल कलेज भैरहवा लगियो ।
त्यसको अर्को दिन उनकै सहकर्मी डा. विश्व तुलाचन, डा. सन्तोष शाह र डा. लक्ष्मी पाठकको टोलीले उनको अप्रेसन गर्यो । चिकित्सक टोलीले आधा हड्डी निकालिएको र आधा पेटमा धकेलिएको कुरा परिवारलाई बतायो । र, साथसाथै, अप्रेसन सफल भएको र उनलाई जुस र झोलिलो खानेकुरा खान दिए हुने पनि चिकित्सक टोलीले सुझायो ।
१४ गते उनलाई परिवारले झोलिलो खाने कुरा दियो । तर, जुस खाएलगत्तै उनले बान्ता गरे । यसले परिवारलाई चिन्तित बनायो ।
‘मेरा अंकल अरुणकुमार सिंह पनि चिकित्सक हुनुहुन्छ,’ डा. सिंहका छोरा प्रज्ज्वलले फरकधारसँग भने, ‘उहाँले आमासँग बुबाको सिटिस्क्यान गराउन सल्लाह गर्नुभयो ।’ चिकित्सकहरुले पर्दैन भन्दाभन्दै पनि परिवारले सिटिस्क्यान गराउन कर गर्यो ।
सिटिस्क्यानको रिपोर्ट हेर्दा घाँटीमा हड्डीको टुक्रा देखियो । बुझ्दै जाँदा हड्डी घाँटीबाट निकाल्न नसकेर चिकित्सक टोलीले घाँटीबाट पेटमा जबर्जस्ती धकेल्ने प्रयास गर्दा उनको खाना नलीमा घाउ भएको रहेछ ।
१५ गते उनलाई भैरहवाबाट हेलिकप्टरमा त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार गर्न थालियो । इन्डोस्कोपी गरेर हेर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत असर परेको देखियो । अप्रेसन गरेर हड्डी निकालियो । आइसियूमा राखेर उपचार थालियो, तर स्वास्थ्यमा सुधार देखिएन ।
बाबुको अवस्था साह्रै बिँग्रिदै गएपछि प्रज्ज्वल बंगलादेशबाट नेपाल आए । प्रज्ज्वल र उनकी दिदी प्रज्ञा सिंह बंगलादेशमा क्रमशः दोस्रो र पाँचौँ वर्षमा एमबिबिएस पढिरहेका थिए ।
‘हामी नेपाल आउँदा बाबाको अवस्था कति गम्भीर भइसकेको थियो भने मान्छेलाई चिन्नै नसक्ने भइसक्नुभएको थियो,’ हामीसँग टेलिफोनमा कुरा गर्दा प्रज्ज्वलको आवाज मलीन सुनिन्थ्यो, ‘हामी नेपाल आएको १८–२० दिनमा बाबाको निधन भयो ।’
उनलाई थाहा थियो– बाबाको मृत्यु चिकित्सककै लापरबाहीका कारण भएको हो । उनीहरुले सही तथ्य लुकाएको प्रज्ज्वलको आरोप छ । अध्ययनलाई निरन्तरता दिनुपर्ने बाध्यताका कारण उनले बेलैमा बाबालाई न्याय दिलाउन सकेनन् । उनी बाबुको अन्तिम संस्कार सकेर दिदीसहित बंगलादेश फर्किहाले ।
यता, मृतक डा. सिंहकी श्रीमती वीणा सिंहले माग ३० गते नेपाल मेडिकल काउन्सिललाई श्रीमान्को उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि कारबाहीको माग गर्दै पत्राचार गरिन् । उनले ‘नेपाल मेडिकल काउन्सिल नियमावलीको नियम २२ बमोजिम आचारसंहिताविपरीत हेलचेक्र्याइँ र लापरबाही गरी उपचार गर्ने चिकित्सकमाथि कारबाही पाऊँ’ भन्दै पत्राचार गरेकी थिइन् ।
पीडितको पत्राचारपछि काउन्सिलले युनिभर्सल मेडिकल कलेजलाई चैत ७ मा निर्देशनसहितको पत्राचार गर्दै उपचारमा संलग्न तीनैजना चिकित्सक डा. विश्व तुलाचन, डा. सन्तोष साह र लक्ष्मी पाठकसँग स्पष्टीकरण माग्यो ।
स्पष्टीकरणपछि काउन्सिलले उपचारमा संलग्न दुईजनाको संलग्नता नदेखिएको प्रतिवेदन दियो । तर, विश्व तुलाचनको हकमा एक वर्षका लागि इण्डोस्कोपी गर्न नपाउने गरी कारबाही सुनायो । काउन्सिलको निर्णय पुनरवलोकन गर्न माग गर्दै पीडित परिवारले पुनः पत्राचार गर्यो ।
‘काउन्सिलले निष्पक्ष छानबिन नै गरेन,’ प्रज्ज्वलको आरोप छ, ‘तीनजनामध्ये एकजनालाई मात्र कारबाही गर्ने निर्णय गर्यो, जबकि उपचारमा तीनैजना संलग्न थिए । गरिएको कारबाही पनि उचित भएन ।’
पीडित परिवारले मेडिकल कलेजका महाप्रबन्धक र प्रिन्सिपलसँग न्याय र क्षतिपूर्तिका लागि पटक–पटक गुहार माग्यो । ‘तर, उहाँहरुले हामी यसमा केही गर्न सक्दैन भन्दै हाम्रो फोन उठाउनै छाड्नुभयो,’ प्रज्ज्वल बताउँछन् ।
त्यसपछि डा. सिंहको परिवारले न्यायका लागि नेपाल चिकित्सक संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय आदिसँग गुहार माग्यो । तर, उनीहरुको कुरा कसैले सुनिदिएन ।
कसैले आफ्नो कुरा नसुनिदिएपछि अन्ततः आफूहरु अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको प्रज्ज्वल बताउँछन् । नेपाल मेडिकल काउन्सिलले दोषी चिकित्सकहरुलाई जोगाएको पीडित परिवारको आरोप छ ।
‘बाबाको ज्यान चिकित्सकहरुको लापरबाहीकै कारण भएको हो । यो कुरा प्रस्ट छ,’ उनले भने, ‘आगामी दिनमा कसैलाई पनि यस्तो घटना नहोस् र लापरबाही गर्ने चिकित्सकमाथि निष्पक्ष छानबिन होस् भनेर अदालतमै पुग्नुपर्यो ।’
‘हामी दिदिभाइ दुवैजना एमबिबिएस पढ्दै छौँ । यो कोर्स धेरै खर्चिलो छ,’ उनले भने, ‘घरमा कमाउने बाबा एकजना मात्रै हुनुहुन्थ्यो । उहाँको अनुपस्थितिमा परिवारलाई आर्थिक भार पनि थपिएको छ ।’
डा. सिंहको उपचारमा धेरै पैसा खर्च भयो । परिवारलाई अहिले ऋण लागेको छ । प्रज्ज्वल भन्छन्, ‘बाबाको उपचारमा ५५ लाख जति खर्च भएको छ । हामी मध्यमवर्गीय परिवारसँग यति पैसा हुने कुरै भएन ।’ आफन्त र नेपाल बंगलादेश बैंकसँग ऋण लिएर उपचार गरिएको र अझै २५ लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रज्ज्वलले बताए ।
बंगलादेशमा कोरोना लकडाउन सुरु भएपछि प्रज्ज्वल र प्रज्ञा सिंह नेपाल फर्किएका छन् । अब अवस्था साम्य भएर पठनपाठन सुरु भएपछि बंगलादेश फर्किने उनीहरुको योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।