‘प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउँछु भने’, यो खबर आइतबार एकाएक बाहिरियो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना निकट नेताहरूलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर प्रधानमन्त्री ओलीसँगको भेटका सम्बन्धमा त्यस्तो ब्रिफिङ गरेका थिए ।
अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको कुरा ब्रिफिङ गरेपछि सत्तारुढ दल नेकपा फुटको संघारमै पुगेको भन्दै राजनीतिक सरगर्मी बढेको छ । कतिपयले यसलाई नेकपा फुट्न लागेको बताएका छन् भने कतिले यसलाई पार्टी विवादको एउटा पाटोका रूपमा मात्रै लिएका छन् ।
यसै सन्दर्भमा हामीले नेकपाका स्थायी कमिटीका नेताहरूलाई के नेकपा अब फुटको संघारमा पुगेको हो भनेर प्रश्न गरेका छौं ।
प्रधानमन्त्रीले पार्टी फुटाउँछु भन्ने कुरा २०० प्रतिशत गलत
नेकपाका संसदीय दलका उपनेता तथा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ पार्टीभित्र केपी ओली समूहका नेता हुन् । के नेकपा फुटको संघारमा पुगेको हो ? भन्ने विषयमा फरकधारसँग कुरा गर्दै नेता नेम्वाङले पार्टी फुट्ने भन्ने कुरा हल्ला मात्रै भएको बताए ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलमा पार्टी अब अलग–अलग जाने भनेको भन्ने कुरा सरासर गलत भएको नेता नेम्वाङले बताए । ‘प्रधानमन्त्रीज्यूले पार्टी फुटाउँछु भन्नुभयो भन्ने कुरा २०० प्रतिशत गलत हो’, नेता नेम्वाङले भने ।
उनले पार्टीको विवाद नेताहरूबीच छलफल गरेर समाधान गर्ने र त्यही प्रयासमा अहिले लागिरहेको समेत बताए । नेता नेम्वाङले केही व्यक्तिहरू पार्टी फुटाउन लागेको हुनसक्ने भए पनि त्यो सपना पूरा नहुने समेत बताए । ‘हामी पार्टीभित्रको विवाद मिलाउन सबै प्रयासमा लागिरहेका छौ’, उनले भने ‘कोही–कोही पार्टी फुटाउन पनि लागेका होलान् । हामी पार्टी मिलाउन लागिरहेका छौं । पार्टी फुट्दैन र हामी फुट्न दिँदैनौँ ।’
पार्टी फुट्नु हुँदैन, पार्टी निर्णय कार्यान्वयन हुनुपर्छ
नेकपाका स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायण काजी श्रेष्ठले अहिलेको अवस्थामा पार्टी फुट्न नहुने बताए । फरकधारसँग कुराकानी गर्दै नेता श्रेष्ठले पार्टी विभाजन अहिलेको आवश्यकतासँग मेल नखाने बताए । ‘पार्टी फुट्नु हुँदैन । यो आजको आवश्यकतासँग मेल खाँदैन’, नेता श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्न धेरै चिज केही गर्नु पनि पर्दैन । सबैले पार्टीको निर्णय मानेर लागु गरे पुग्छ ।’
तर पार्टीलाई विधि र पद्धतिमा भने चलाउन जरुरी रहेको नेता श्रेष्ठको भनाइ छ । उनले भने, ‘यहाँ त समस्या पार्टी निर्णय मान्ने कि नमान्ने ? पार्टीलाई विधि, पद्धतिमा चलाउने कि नचलाउने भन्ने मात्रै हो ।’ दुई पार्टी मिलेर एक पार्टी बनेकाले पार्टीभित्र सैद्धान्तिक, राजनीतिक मतभेदहरू हुनसक्ने भए पनि ती कुराहरू अहिले बाहिर आइनसकेकाले अहिले पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने विवाद मात्रै भएको उनले बताए ।
‘पार्टीभित्र सैद्धान्तिक, राजनीतिक मतभेदहरू पनि होलान् तर त्यो अहिले छलफलको विषय बनिसकेको छैन’, नेता श्रेष्ठले भने, ‘अहिले त पार्टीको निर्णय मान्ने कि नमान्ने, लागु गर्ने कि नगर्ने भन्ने बहस नै विवाद हो ।’ तर, पार्टी एकता भइसकेपछि अब पार्टीलाई मिलाएर जान जरुरी रहेको उनले बताए । त्यसका लागि पार्टीभित्रको विवाद समाधान गर्न सबै नेताहरू प्रयासरत रहेको नेता श्रेष्ठले बताए ।
यो पार्टी फुट्नका लागि बनेको होइन
नेकपाका स्थायी कमिटीका सदस्य भीम आचार्यले पार्टी नफुट्ने बताए । नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज नेता आचार्यले अहिले देखिएको नेकपाको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘पार्टी फुट्दैन पार्टीको समस्या समाधान हुन्छ । । पार्टी विभाजन हुने गरी नै विवाद त्यहाँसम्म पुगिसकेको छैन’, नेता आचार्यले भने, ‘अहिले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन नहुँदा मात्रै पार्टीभित्र विवाद देखिएको हो ।’
अहिलेको समस्या समाधान हुन नसक्ने समस्या नभएको भन्दै उनले नेताहरूले बसेर यसको निकास निकाल्ने बताए । उनले भने, ‘अहिले नै पार्टी फुट्छ भन्ने कसैले नसोचे पनि हुन्छ । यो पार्टी फुट्नका लागि बनेको पार्टी होइन । हाम्रो पार्टीका शीर्ष नेताहरू बसेर नै यो समस्याको समाधान गर्नुहुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।