प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता पाउँदैनः ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । 

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकखालको सहमति गर्ने र खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमतिविपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठ्यारो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार साँझ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहृका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए । 

 ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ,’ उनले भने, ‘अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उनले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ ।’ 

सोहीकारण समस्या खडा भएको उल्लेख गर्दै उनले भने ‘गर्नु के पथ्र्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्नेबित्तिकै बिग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाखेरिको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको नेता पोखरेलको दाबी छ । 

 ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कनुपर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडि बढ्नुपर्यो । यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन,’ उनले भने, ‘यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झन्झन् बल्झिन्छ, दुखद् परिणाम हुन्छ ।’



अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने, ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरु–अरु साथीहरुसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दबाब सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्याउँछ ।’

अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्नेबाहेक केही पनि काम गर्न नसकेको पोखरेलको आरोप छ । पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १९:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया