कोरोनाका कारण महोत्तरी पुरुष र बाँकेमा महिला वडा सदस्यको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १०ः०० बजे यहास्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन् । 

विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् । 

यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं ७ का वडा सदस्य मोहम्मद हासिम अन्सारीको निधन भएको हो ।

उनी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । १५–२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर  सिकिस्त बिरामी भएपछि भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अन्सारीको गएराति निधन भएको हो । 

वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको मेयर मण्डलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २०:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया