प्ले अफमा पुग्न जित्नै पर्ने दबाबमा हैदराबाद

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा समूह चरणको अन्तिम खेल मङ्गलबार (आज) हुँदैछ । आज हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ । 

नेपाली समयअनुसार राति पौने आठ बजे सारजाह क्रिकेट मैदानमा हुने खेलमा  प्ले अफमा स्थान बनाउन हैदराबादलाई यो खेल जित्नुको विकल्प छैन । हाल ऊ १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको पाँचौं स्थानमा छ ।

प्ले अफको लक्ष्यमा रहेको हैदराबादका लागि लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मुम्बईमाथि जित हात पार्न त्यति सहज भने हुनेछैन ।

हैदराबादका लागि ब्याटिङमा कप्तान डेविड वार्नर, मनीष पाण्डे र जोनी बेरिस्टोले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा रसिद खान र टि नटराजनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।  

समान ३–३ अर्धशतक प्रहार गरेका वार्नरले ४ सय ४४, पाण्डेले ३ सय ८० र बेरिस्टोले ३ सय ४५ रन बनाएका छन् । रसिदले १८ विकेट हात पार्दा नटराजनले १४ विकेट लिएका छन् ।

१३ खेलबाट ९ जित र ४ हारको नतिजासहित शीर्ष स्थान पक्का गरिसकेको मुम्बईलाई आजको खेलले कुनै प्रभाव पार्ने छैन । 



मुम्बईका लागि ब्याटिङमा क्विन्टन डिकक, इशान किसन र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा जसप्रित बुमराह, ट्रेन्ट बोल्ड र जेम्स प्याटिनसनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।  

डिककले ४ अर्धशतकसहित ४१८ रन बनाउँदा समान ३–३ अर्धतक प्रहार गरेका इशानले ३९५ र यादवले ३७४ रन बनाएका छन् । बुमराहले २३, बोल्टले २० र प्याटिनसनले ११ विकेट हात पारेका छन् । 



किरोन पोलार्ड कप्तान रहको मुम्बईले आजको खेलमा आफ्ना महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना छ । 

उसले आज डिककको स्थानमा क्रिस लिन, बोल्टको स्थानमा नाथन कुल्टर नाइल,  प्याटिनसनको स्थानमा मिचेल म्याकलेधन र बुमराहको स्थानमा धवल कुलकर्णीलाई मौका दिनसक्छ ।

हालसम्म यी दुई टोलीले १५ खेलमा प्रतिस्पर्धा गर्दा मुम्बईले ८ र हैदराबादले ७ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा पनि मुम्बई नै बलियो देखिन्छ ।

मुम्बईले २ खेल आफ्नो पक्षमा पर्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा मुम्बई ३४ रनले विजयी भएको थियो ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १२:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया