नेपाल टेलिकमको आइपी टिभी परीक्षण सुरु

केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको सुविधासमेत दिने लक्ष्य राखेको नेपाल टेलिकमले यसको परीक्षणको तयारी गरेको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटिटिएच)मार्फत इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।

अहिले कम्पनीकै केही कर्मचारी र सीमित संख्यामा मात्र यसको परीक्षण भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण थालनी गर्ने उनको भनाइ थियो ।

टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दसैँअगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । 

कम्पनीले हाल उपलब्ध गराइरहेको एफटिटिएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्न सक्नेछन् ।

टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटिटिएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिए । 

साउनसम्म टेलिकमका दुई लाख १३ हजार एफटिटिएच ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । असोजमा मात्रै एकैपटक १३ हजारभन्दा बढी एफटिटिएच प्रयोगकर्ता थपिएको अधिकारीले जानकारी दिए । 
 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया