विश्व महामारी कोरोनाभाइरस र यसले सिर्जना गरेको लकडाउनका कारण पछिल्लो समय विश्वभर नै रोजगारी गुमाउनेहरुको संख्या निकै बढेको छ । नेपालमा पनि रोजगारी गुमाउनेहरुको संख्या निकै बढिसकेको छ ।
यो समस्याका कारण पछिल्लो समय खाना खान पनि समस्या भएकाहरुलाई खुलामन्चमा केही परोपकारी संस्थाहरुले खाना खुवाइरहेका थिए । तर, काठमाडौं महानगरले त्यहाँ खाना नखुवाउन निर्देशन दिएको छ ।
यसको विरोधमा साझा पार्टीले खुलामन्चमा असहायहरुलाई खाना खुवाउनले भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिअनुसार साझा पार्टीले खुलामन्चमा बुधबार बिहान र साँझको खाना खुवाउने भएको हो ।
पार्टीका प्रवक्ता शरदराज पाठकको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।