लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गर्ने भनिएको देउखुरीको राप्ती प्राविधिक शिक्षालय भवन । तस्बिर : फरकधार

लुम्बिनी प्रदेशको तिहारपछि हुने हिउँदे अधिवेशन स्थायी राजधानीमा हुने भएको छ । जसका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको छ । प्रदेश सरकारले देउखुरीको राप्ती उपत्यकामा प्रदेशको स्थायी मुकाम तोकेसँगै हिउँदे अधिवेशनको तयारी अघि बढाएको हो । अधिवेशनका लागि देउखुरीमा राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । शिक्षालय हस्तान्तरण र स्थानान्तरणको काम सरकारले सँगै अघि बढाएको छ ।

प्रदेश सभा सदस्य इन्द्रजित थारूले राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र शिक्षालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने प्रकृया सुरु भएको बताए । उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी तोकेसँगै हिउँदे अधिवेशनको तयारी सुरु गरेको हो । तत्कालका लागि प्राविधिक शिक्षालयमा अधिवेशन गर्ने र शिक्षालयलाई उपयुक्त स्थानमा स्थानान्तरणका लागि अवलोकनको काम भइरहेको छ ।’

जसका लागि प्रदेश सरकारसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्थानीय तह सबैले हिउँदे अधिवेशनको तयारीमा सहयोग गरिरहेको उनले बताए ।  उनले थपे, ‘राजधानी आएको अनुभुति सरकारले दिलाउन खोजिरहेको छ ।’

तत्काल हस्तान्तरण र स्थानान्तरण 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) अन्तर्गत रहेको शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । शिक्षालय हस्तान्तरण र उपयुक्त स्थानमा शिक्षालय स्थानान्तरण सँगै गरिने प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताए । १६ बिघा जग्गामा फैलिएको उक्त शिक्षालयमा साना–ठूला गरी ३५ वटा पक्की भवन छन् । जसमा ३ सय क्षमताको सभाहल समेत छ । तत्काल हुने हिउँदे अधिवेशनका लागि उक्त सभाहलको प्रयोग हुने उनले बताए ।

उपयुक्त स्थानमा शिक्षालय



राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीले शिक्षालय सञ्चालनका लागि उपयुक्त पूर्वाधारको खोजी भइरहेको बताए । शिक्षालयको संरचना सरकारलाई हस्तान्तरण गरिए पनि शिक्षालयलाई देउखुरी क्षेत्रमै उपयुक्त स्थानको छनोट गरी सञ्चालन गरिने उनको भनाइ छ । ‘जसको खोजी व्यवस्थापन समितिको तर्फबाट भइरहेको छ ।’ 

देउखुरीमै शिक्षालय 



प्रदेश सरकारले प्राविधिक शिक्षालयको संरचना उपयोग गरे पनि शिक्षालयका लागि आवश्यक संरचना  र स्थानको खोजी गरी देउखुरीमै शिक्षालय सञ्चालन गर्ने तयारी स्थानीय तहले गरिरहेका छन् । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘प्राविधिक शिक्षालय देउखुरीको गहना हो, भवन र जग्गा जति चाहिन्छ उति दिन्छौं । अहिले नै यहाँ र त्यहाँ भन्न सकिँदैन । तर, शिक्षालय देउखुरीमै रहन्छ ।’

गढवामा चल्छ 

शिक्षालयलाई गढवा गाउँपालिकामा सार्न सकिने विषय बलियो गरी छलफलमा आएको छ । ‘सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोवरडिहामा प्राविधिक शिक्षालय सञ्चालन गर्न सक्छौं । यस बारेमा निर्णय पनि गरेका छौं’, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने, ‘विद्यालयमा छलफल समेत गरेका छौं । अहिलेकै अवस्थामा शिक्षालय चलाउन सक्ने पूर्वाधार यहाँ छ ।’

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १६:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया