सुदूरपश्चिममा एकै दिन छुट्टाछुट्टै स्थानमा ५ जनाको शव फेला परेको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डोटी गरी ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढीमा १८ वर्षीया युवती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले वडा नम्बर ८ मा १८ वर्षीया युवती मृत भेटिएको बताए । वडा नम्बर १ को वसन्तटोल शिविरमा बस्दै आएकी इन्द्रा चौधरी मृत भेटिएको बताउँदै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परे पनि पहिचान खुल्न नसकेको बताए ।
त्यस्तै गरी भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट ४ किमिभित्र भारततर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायव उपरीक्षक थापाले भारतीय प्रहरीले महिलाको शव फेला पारेको बताए ।
मंगलबार नै दार्चुलामा पनि १ जनाको शव फेला परेका छ । बैतडीको डिलाशैनी गाउँपालिका २ गन्नाका ४० वर्षीय गोविन्द घरेडीको मंगलबार बिहान दार्चुलाको शैल्यशिखर–९ शिवपुरी धाम जग्वाचौर नजिक पानीको कुलोमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।
डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए ।
घरपरिवारका सदस्यसमेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ । साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।