खुलामञ्चमा पेट भरिरहेका ‘कवाडीवाला’ मनोज साेच्छन्– सरकारले भात खुवाइरहेकाे छ

खुलामञ्च र मनोज शर्मा । 

काठमाडौंको मुटु खुलामञ्च र मनोज शर्मा एकअर्कासँग जोडिएर सहजै आउने नाम होइनन् । खुलामञ्च त नेपाली इतिहासमा सधैँजसो जोडिन्छ विशिष्ट नामहरूसँग । 
मनोज शर्मा अधिकांशका लागि कुनै विशिष्ट नाम होइन । 

आउनुहोस्, आज पढौँ तिनै मनोज शर्मा र खुलामञ्चको एउटा कथा । 

३ नोभेम्बर । विश्व महामारी कोरोनाभाइरसले विश्वभर कहर निम्त्याएको अब ११ महिना भइसकेको छ । यही दिन नेपालमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

कोरोनाभाइरसका कारण विश्वको अर्थतन्त्र हलचल भएको छ, विश्वभर मानिसहरु समस्यामा परेका छन् । नेपालीहरु पनि यसबाट अछुतो बनेका छैनन् । 

देशको अर्थतन्त्र के भएको छ भन्ने कुनै चासोको विषय होइन, मनोजलाई । मनोज शर्मालाई त चासो छ, कवाडी बोक्ने आफ्नो थैलो आजभोलि कम भरिन थालेको छ ।



हो, फोहोर उठाउने काम गर्छन् मनोज शर्मा । मंगलबार पनि खुलामञ्चमा पुग्दा मनोजसँग एउटा ठूलो थैलो थियो, फोहोरको । दिनभर उनले संकलन गरेको । अनि थियो, उनीसँग भोको पेट । 

रौतहटका मनोजले यही खुलामञ्चको भुइँमा पलेँटी मारेर खाना खान थालेको अहिले ठ्याक्कै एक महिनाभन्दा बढी भएको छ । हिजोसम्म उनले आफ्नो परिवारका अरुलाई पनि यहाँ नै खाना खान ल्याउँथे । काठमाडौंमा उनकी श्रीमती छिन्, तीन सन्तान छन् । मनोजको पाँचै जनाको परिवारले हिजोसम्म तीन पटक खुलामञ्चमा नै खाना खान्थ्यो ।



सोमबार केही सहयोगी हातहरुले उनलाई १५ किलो चामल दिए । मंगलबार मनोजले छोराछोरी र श्रीमतीलाई घरमै खाना पकाउन भने र आफू खाना खाने समय छोपेर खुलामञ्च आइपुगे । 

मनोज अहिले काठमाडौंमा बस्न थालेको १० वर्ष भयो । सपनाहरु लिएर छिरेका थिए, रौतहटबाट मनोज काठमाडौंमा । त्यसअघि त उनी र उनकी श्रीमती गर्थे रौतहटमै ज्याला मजदूरी । दुःख र चिन्ता, भोक र सूर्ता उनका स्थायी साथी भएका थिए । त्यहीबीचमा कसैले उनलाई भनिदिएको थियो– काठमाडौंमा त धेरै पैसा कमाउन सकिन्छ । 

गाउँको भन्दा अझ बढी कमाए मीठो खाउँला र राम्रो लगाउँला भन्ने आशा लिएर काठमाडौं आइपुगे मनोज ।

काठमाडौं उनले सोचेजस्तो भएन । तर, उनी फर्किन पनि सकेनन् । ‘काठमाडौं आउने गाडीभाडा त ऋण लिएर आएको थिएँ हजुर,’ उनले भने, ‘अनि यहीँ बसेँ ।’

दुईचारवटा अरु काम पनि खोजेका थिए, मनोजले । तर, टिक्न सकेनन् । अनि उनले रोजे कवाडी संकलन ।

काठमाडौंमा पछिल्लो समय लकडाउनपछि ठूला होटलहरु सन्चालन हुन थालेका छन् । ठूला उद्योगी र व्यापारीहरु त्यहाँ आफ्नो व्यापारमा क्षति आएको भन्दै सरकारसँग कम्पनसेसन माग गरिरहेका छन् । 

हो, कोरोना महाव्याधिले अर्थतन्त्र तहसनहस बनाएको छ । र, तहसनहस बनाएको छ, मनोजहरुको जीवन पनि । कोरोनाकाल सुरु हुनुभन्दा पहिले मनोजले दिनभर कवाडी संकलन गरेर जसोतसो परिवारको पेट पालेका थिए, परिवारका सबैको पेट भरेका थिए । 

तर, जसै कोरोनाका कारण लकडाउन सुरु भयो, उनले बाटोहरुमा भेट्न छाडे फोहोर, प्लास्टिकका बोतल र सिसी बोतल फलाम ।

‘अहिले त दिनमा १० किलोमात्र संकलन हुन्छ,’ मंगलबार दिउँसो खुलामञ्चमा भेटिएका मनोजले सुनाए, ‘यसको सय रुपैयाँ जति आउँछ ।’

कोरोना हुँदैनथ्यो भने यतिबेलासम्म मनोजले संकलन गरिसकेका हुन्थे ३० किलो जति कवाडी । अनि उनले त्यसबाट पाउन सक्थे तीन सयदेखि पाँच सयसम्म । 

‘अहिले बाहिर निस्किन पाइएको छ, तर फोहोर नै पाइँदैन,’ मनोजले भने । 

योबीचमा दैनिकी गुजार्न मनोजले ऋण लिएका छन् । ‘४० हजार ऋण लागिसकेको छ,’ मनोजले प्रष्ट भने । 

त, फेरि लागौँ खुलामञ्च र मनोजको सम्बन्धबारे । 

एक महिना यता मनोजलाई सबैभन्दा प्रिय लाग्ने ठाउँ हो, खुलामञ्च । यही खुलामञ्चमा उनले दैनिक तीन पटक खाना खान पाएका छन् । विहानको होस् या दिउँसोको वा साँझको मनोज खुलामञ्च पुग्छन् र भुइामा टुक्रुक्क बस्छन् अनि खाना कुरेर बस्छन् । 

खुलामञ्चमा लकडाउनका कारण असाहय बनेकाहरुलाई खाना खुवाइरहेका छन् केही मनकारी युवाहरुले, विभिन्न संघसंस्थाहरुले । मनोजहरुको पेट भरिरहेका यी परोपकारी युवा र संस्था चाहिँ तारो बनेका छन्, महानगरपालिकाको । काठमाडौं महानगरले केही दिनअघि मात्र भनेको छ– खुलामञ्चमा खाना खुवाउन रोक्नू ।

खुलामञ्चमा निःशुल्क खाना खुवाउँदा मानिसहरु अल्छी भएको, काठमाडौं फोहोर भएको तर्क छ काठमाडौं महानगरको । 

तर, मनोजहरुलाई यही खुलामञ्चले जीवनप्रतिको आशा जगाएको छ । खुलामञ्चमा परोपकारी मनहरुले खुवाउने खानाका कारण अहिले उनीहरुको दैनिकी सहज बनेको छ । 

हामीले मनोजलाई सोध्यौँ– तपाईंलाई थाहा छ यो खाना कसले खुवाइरहेको छ ? 

मंगलबार खुलामञ्चमा अरु दिनजस्तै मनोजहरुलाई खाना खुवाउन जुटेका थिए, हाम्रो टिम र हन्ड्रेड्स ग्रुप । 

यी दुई संस्थाका मानिसहरु खाना खान आउनेहरुलाई सामाजिक दूरी कायम गर्न बारम्बार अनुरोध गरिरहेका थिए, माइकमा । माइकमा उनीहरुले भनेका थिए– तपाईंहरु जहाँ हुनुहुन्छ, त्यहाँ बस्नुहोस्, हामी खाना लिएर आउँछौँ त्यहाँ । 

तर, मनोजलाई थाहा छैन, यो खाना यी संस्थाले खुवाएका हुन् । 

उनले त हाम्रो माथिको प्रश्न खस्न नपाउँदै भने– सरकारले । 

यही सरकार जसले कोरोनाभाइरस पोजेटिभ आएका जनतालाई चर्को शुल्क लिएर उपचार गर्न बाध्य बनाएको छ, यही सरकार जसले यसरी खाना खुवाउन रोक्ने उर्दी जारी गरेको छ, त्यही सरकारले आफूलाई खाना खुवाएको भ्रममा छन् मनोज ।

एउटा कुनामा बसेर खाना खाए, मनोजले । आफूले खाएको प्लेट ल्याएर फाले डस्टबिनमा । 

अनि दिनभर संकलन गरेको फोहोर बोके काँधमा र निस्किए गन्तव्यमा । आज मनोजको पेट भरिएको छ, खुलामञ्चमा । हिजोसम्म उनको पूरै परिवारको पेट भरिन्थ्यो खुलामञ्चमा ।

खुलामञ्चमा खाना खान नपाएको भए मनोजले कसरी यी दिनहरु कटाउँथे होलान् ? 

यसको जवाफ मनोजसँग पनि छैन । 

के काठमाडौं महानगरसँग छ यो प्रश्नको जवाफ– के मनोजहरु होइनन् यो देशका नागरिक ?

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २०:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया