आइपिएलः वार्नर–साहाको धमाका, मुम्बईलाई १० विकेटले हराएर हैदराबाद प्ले अफमा

सनराइजर्स हैदराबादले आइपिएल १३ को प्ले अफमा आफ्नो स्थान पक्का गरेको छ । हैदरबादले शारजाहमा खेलिएको अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएको हो । 

मुम्बईबाट जितका लागि १ सय ५० रनको टार्गेट पाएको हैदरबादका ओपनरले सामान्य लक्ष्य प्रमाणित गरिदिए । उनीहरुले १८ औं ओभरमा टिमलाई जित दिलाए । हैदरबादका कप्तान डेभिड वार्नर नटआउट ८५ र ऋद्धिमान साहाले नटआउट ५८ रन बनाए । 

यो जितसँगै हैदरबादले अंक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । अब दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि यो टिम रोयल च्यालेन्जर्ससँग खेल्नेछ । 

हैदराबादका कप्तान डेभिड वार्नर र ऋद्धिमान साहाको ओपनिङ आजको खेलमा निकै जमेको थियो । यी दुवै ब्याट्सम्यानले सुरुवातमा नै मुम्बईका बलरहरुलाई कमजोर सावित गरे । ऋद्धिमान साहाले दोस्रो ओभरमा नाथन कुल्टर नाइलको बलमा एक छक्का र एक चौका प्रहार गरेर आजको खेलमा आफू जम्ने संकेत गरेका थिए । तेस्रो ओभरमा पनि उनले धवल कुलकर्णीको बलमा लगातार दुई चौका प्रहार गरे ।

चौथो ओभरमा कप्तान वार्नरले आफूलाई सहज बनाए र जेम्स प्याटिन्सनको लगातार तीन बलमा चौका प्रहार गरे । मुम्बईका कप्तान रोहित शर्माले रनको रफ्तार रोक्नका लागि पाँचौ ओभरमा राहुल चाहरलाई बलिङमा पठाएका थिए । तर, यो ओभरमा पनि दुवैले एक एक चौका प्रहार गरे । 

पावरप्लेको ६ ओभर सकिँदा हैदराबादको खातामा ५६ रन जोडिएको थियो ।



पावरप्ले पछि पनि दुवैले निकै सहज तरिकाले आजको खेलमा प्रदर्शन गरे । १२ औं ओभरमा चाहरको बलमा छक्का प्रहार गर्दै वार्नरले अर्धशतक पूरा गरे । यही ओभरमा साहाले पनि आफ्नो अर्धशतक पूरा गरे । 

१५ ओभर सकिँदा हैदराबादको खातामा १ सय ३७ रन दर्ज भएको थियो ।



१८ औं ओभरको पहिलो बलमा नै चौका हानेर वार्नरले हैदराबादलाई जित दिलाए । वार्नरले ५८ बल खेल्दा १० चौका र एक छक्का प्रहार गरेर ८५ रन बनाएका हुन् । साहाले ४५ बल खेल्दै सात चौका र एक छक्काको सहयोगमा ५८ रन बनाए ।

यसभन्दा पहिले मुम्बई इन्डियन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि सबैभन्दा बढी रन केरोन पोलार्डले ४१ बनाएका थिए । उनले २५ बलमा चार छक्का र दुई चौका प्रहार गरे । सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा ओपनर क्विंटन डि ककले २५ रनको योगदान टिमलाई दिए । 

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २३:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया