अमेरिकी भावी नेतृत्वले विश्व अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

विश्व महाशक्तिको अग्रस्थानमा रहेको अमेरिकामा नयाँ राष्ट्रपतिको निर्वाचन जारी छ । विश्वकै शक्तिशाली मुलुकमा भावी राष्ट्रपति को बन्ला भन्ने चासो विश्वब्यापी रुपमै व्याप्त छ । आगामी ४ वर्षका लागि नयाँ राष्ट्रपति छान्ने प्रक्रियामा रहँदा राष्ट्रपतिका लागि चुनावी मैदानमा भिडिरहेका छन्, डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प ।

अमेरिकी अर्थनीतिको अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, पर्यटन, अनुदान, ऋण विस्तारलगायत विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण अर्थ राख्ने हुँदा आगामी नेतृत्वप्रति विश्व बजारले चासो राख्नु स्वाभाविक हो । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अमेरिकाको आगामी नेतृत्वका स्वभाविक नीतिबारे अर्थशास्त्रीले आ–आफ्नै ढंगले टिप्पणी गरिरहेका छन् ।

हालका राष्ट्रपति ट्रम्पको खुला बजारप्रतिको दृष्टिका कारण अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धामा गम्भीर असर परिरहेको अर्थशास्त्रीहरूको बुझाइ छ । अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा पहिलादेखि गरिआएका विभिन्न अन्तर्राष्ट्रिय कार्यबारे आफ्नो पहिलो कार्यकालमा ‘मुडी’ स्वभाव देखाएका ट्रम्पले अन्तर्राष्ट्रिय व्यापार संगठनका कतिपय सिद्धान्त मिचेको आरोपसमेत खेपिरहेका छन् । लामो समय अमेरिकी सिनेटमै बिताएका बाइडेनलाई भने कम विवादमा आउने सिनेटरको रुपमा चिनिन्छ । उनी विश्व बजारको सन्दर्भमा नरम नीति राख्ने नेताका रुपमा परिचित छन् । 

विश्व अर्थतन्त्रमा असर

आगामी ४ वर्ष ट्रम्प राष्ट्रपति भए विश्व अर्थतन्त्रमा पहिले कार्यकालभन्दा पनि बढी उथलपुथल हुने अर्थविदहरूको टिप्पणी छ । अर्थविद् गोकर्ण अवस्थीको तर्क छ, ‘खुल्ला बजार नीतिलाई हेर्ने ट्रम्पको नीतिले नै विश्व अर्थतन्त्रमा गम्भीर असर देखिने स्पष्ट छ । चिनियाँ उत्पादनलाई प्रतिबन्ध लगाउने ट्रम्पको नीतिले खुला बजार नीतिको सिद्धान्तलाई लत्याउँछ भने अर्को कुरा विश्व अर्थतन्त्रका शक्तिशाली यी दुबै देशबीचको द्वन्द्वले पनि विश्व बजारमा समस्या देखा पर्नेछ ।’  विश्व अर्थबजारको अर्को शक्तिशाली देश चीनसँगको चिसोपनाका कारण पनि विश्व अर्थतन्त्रमा खराब इतिहास बनाउनेछ ।

अमेरिका र चीनबीचको द्वन्द्वले चीनमा रहेको ठूलो लगानी पनि रोकिन सक्ने सम्भावना आकलन गर्दै अर्थविश्लेषक अवस्थी भन्छन्, ‘ट्रम्पको पहिलो कार्यकालमै धेरै उथलपुथल ल्याएका छन्, चीनसँग त झनै ट्रम्प चिढिएका छन् । दोस्रो कार्यकालमा उनी अझैं शक्तिशाली बन्नेछन्, जसले विश्व अर्थतन्त्रमा गम्भीर असर देखिनेछ ।’
तर बाइडेन राष्ट्रपति भए भने विश्व बजारमा खुला प्रतिस्पर्धात्मक बजार हुने धेरैको आँकलन छ । समग्रमा बाइडेनको आगमनले खुल्ला बजार अर्थतन्त्रको सिद्धान्तमा चलेको विश्व बजारमा उत्पादन बढ्ने र अर्थतन्त्रमा नयाँ उर्जा थपिने पूर्वअर्थमन्त्री रामशरण महतको बुझाइ छ । 



बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा अहिलेको कोरोना भाइरसको बन्दाबन्दीका कारण कमजोर बनेका विश्वका कयौं मुलुकलाई सहयोग गर्नेछन् भन्ने तर्क अर्थविश्लेषक अवस्थीको छ । उनी भन्छन्, ‘कोभिडका कारण थला परेको विश्व अर्थतन्त्र माथि उठाउन विश्व बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण तथा अनुदान दिलाउन नेतृत्व लिन पनि अमेरिकी डेमोक्रट्सका उम्मेदवार बाइडेनले पार्टीको सिद्धान्तलाई नै महत्त्व दिनेछन् ।’

कमजोर देशलाई त कमजोर अर्थतन्त्र भएका बेला गरिएको सानो सहयोेगले पनि ठूलो अर्थ राख्छ । यसले कोभिडका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्न सहयोग पुग्नेछ । यो कुरामा पनि ट्रम्प त्यति उदार नभएको अधिकांशको बुझाइ छ ।



दक्षिण एशियाली अर्थतन्त्रमा प्रभाव

ट्रम्प नै आगामी अमेरिकी राष्ट्रपति भएमा भारतीय बजारमा पनि केही कडाइ हुन सक्छ । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले भारतीय वस्तुको निर्यातमा भन्सार बढाएका छन् । ‘अझै के हुन्छ भनेर यसै भन्न नसकिए पनि पहिलो कार्यकालमा ल्याएका आफ्ना योजना तथा कामको कार्यान्वयनमा परिपक्वता त स्वाभाविक रुपमा गर्छन्,’ विश्लेषक अवस्थी भन्छन्, ‘जसका कारण भारतको अमेरिकासँगको व्यापारमा कडाइ हुनेछ भन्ने आकलन सहजै गर्न सकिन्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग राम्रो सम्बन्ध बनाउन खोजेसँगै भारतसँगका व्यापार नीतिमा केही फेरबदल भने हुन सक्ने अवस्थीको बुझाइ छ । बंगलादेशको व्यापारमा अमेरिकी भावी नेतृत्वको खासै प्रभाव पर्ने देखिँदैन । किनभने, बंगलादेशले अमेरिकामा धेरै गार्मेन्ट निर्यात गरिरहेको छ । अमेरिकीहरुको रोजाइमा पर्ने गार्मेन्ट भएकाले अमेरिकी आम्दानी तथा समग्र अर्थतन्त्रमा मन्दी आएमा मात्रै बंगलादेशलाई असर पर्ने विश्लेषक अवस्थीको बुझाइ छ । 

अर्को कुरा अहिले कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा मन्दी आए पनि ट्रम्पले त्यहाँको अर्थतन्त्र चलायमान नै राखे । उनले कोभिड केही होइन भनेर पनि त्यहाँका बजार बन्द हुन दिएनन् । अहिले त्यहाँको अर्थतन्त्रमा खास असर परेको छैन । जसले गर्दा अमेरिकामा बढी माग रहेको गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशजस्ता देशलाई खास असर नपर्ने अर्थशास्त्री बताउँछन् ।

नेपाली अर्थतन्त्रमा असर 

विश्व शक्तिशाली देश अमेरिकामा आगामी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भए नेपालमा पनि केही असर देखिनेछन् । पछिल्ला वर्षहरुमा नेपाली निर्यात बजारमा भारतपछिको दोस्रो ठूलो बजार अमेरिका हो । नेपालबाट ह्याण्डीक्राफ्टका सामान, पश्मिना, गार्मेन्ट अमेरिका निर्यात गरिन्छ ।

विश्लेषक अवस्थी भन्छन्, ‘यतिबेला नेपालको चासो भनेको, गार्मेन्टमा भन्सार सुविधा दिन्छ कि भन्ने हो । ओबामाले भूकम्पका बेला राहत दिने भनेर दिएको सो सुबिधा बंगलादेश र कम्बोडियाको लबिङमा कटौती गरिदिएको हुँदा ट्रम्प आएमा अब यो सुविधा पाउने सम्भावना रहँदैन ।’

तर, यस सन्दर्भमा अमेरिकाले नेपाललाई हेर्ने नीतिले पनि प्रभाव पार्छ । अघिल्ला वर्षहरुमा अमेरिकाले नेपाललाई भारतकै आँखाले हेर्ने गरेको भनिए पनि पछिल्लो समय नेपालको सदनदेखि रोडसम्म अमेरिकी सहयोग एमसिसीको चर्चा चलेपछि भारतले नेपाललाई महत्त्वपूर्ण चासोका साथ हेर्न थालेको छ । 

विश्लेषक अवस्थीको बुझाइमा नेपालले यो सहयोग लिने कि नलिने भन्ने सन्दर्भलाई ट्रम्पले आफ्नो तरिकाले हेरिरहेका छन् । यसकारण ट्रम्प नै आएमा नेपालमा आउन सक्ने आगामी सहयोगमा पनि कडाइ हुन सक्नेछ ।

ट्रम्प नै आगामी राष्ट्रपति हुँदा अमेरिकी अर्थतन्त्रमा खासै ठूलो असर नदेखिने हुनाले अहिले भइरहेको व्यापारले निरन्तरता पाउने सम्भावना भने बलियो छ । 

अन्य देशको अर्थतन्त्र

दक्षिण एशियाका पाकिस्तान, अफगानिस्तानलगायत राजनीतिक रुपमै अमेरिकाको प्रत्यक्ष प्रभाव रहन्छ । यस कारण पनि आगामी अमेरिकी नेतृत्वको प्रभाव ती देशमा पर्छ । 

  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १७:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया