आइपिएल उपाधि दावेदार चार टोलीमा कुन कति बलियो ? यस्तो छ सम्भावना

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करणमा समूह चरणका खेलहरु मंगलबार रातिबाट सकिएका छन्। प्ले अफमा पुग्ने चार टोलीको टुंगो लागिसकेको छ।  

मुम्बई इन्डियन्स, दिल्ली क्यापिट्ल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोरले प्ले अफमा स्थान बनाइसकेका छन्। आइपीएल यस सिजनको उपाधि यी चार टोली मध्ये एकले जित्ने पक्का छ। यहाँ यी टोलीले आइपिएल जित्न सक्ने केही आधारहरु के छन् ? यसबारे चर्चा गरौँ। 

मुम्बई इन्डियन्स्

मुम्बई प्रतियोगिताको साविक विजेता  हो। समूह चरणको प्रदर्शन हेर्दा चार टोलीमध्ये मुम्बई नै प्रमुख दावेदार मान्न सकिन्छ ।मुम्बईले समुह चरणमा ९ खेलमा जित हात पार्दा ५ खेलमा पराजय व्यहोर्यो‍ ।। १८ अंकका साथ शीर्ष स्थामा रहेको मुम्बईलाई नोभेम्बर ५ मा हुने दिल्लीविरुद्धको पहिलो क्वालिफायरमा जित हात पार्दै सिधै फाइनलमा स्थान बनाउने अवसर हुनेछ ।

बलियो पक्ष 



यो सिजन मुम्बईले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिहेको छ।  उसका लागि ब्याटिङमा क्वीन्टन डि कक, इशान किसन र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन  गरिरहेका छन्।  बलिङतर्फ जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र राहुल चाहरले उत्कृष्ट प्रदर्शन गरिहेका छन्।  

डिककले ४ अर्धशतक सहित ४४३ रन बनाएका छन्। समान ३-३ अर्धशतक प्रहार गरेका किसनले ४२८ र यादवले ४१० रन जोडेका छन्। बलिङमा बुमराहले २३, बोल्टले २० र चाहरले १५ विकेट हात पारेका छन्। बुमराहले डेथ ओभरमा राम्रो बलिङ गरिहेका छन्। 



पछिल्ला केही खेलमा लय गुमाएका किरोन पोलार्ड लयमा फर्किनु मुम्बई लागि राम्रो संकेत हो। उनले हैदराबादसँगको खेलमा २५ बलको सामना गर्दै ४१ रन बनाएका थिए।  

कमजोर पक्ष

अन्य टोलीका तुलनामा मुम्बई सबै पक्षमा सबल नै देखिन्छ। तर ओपनिङ ब्याट्सम्यान रहेका कप्तान रोहित शर्माले यस सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। घाइते भएर ४ खेल गुमाएका रोहित पछिल्लो खेलमा हैदरावादविरुद्ध मैदानमा उत्रिएका थिए। त्यसमा पनि उनले उनले जम्मा ४ रन मात्रै बनाउन सके। केही समय टिक्दा पनि रोहितले राम्रो रन जोड्न सकेका छैनन्। 

जसले गर्दा पावर प्लेमा राम्रो रन बन्नका लागि डिककको भर पर्नु परेको देखिन्छ। सोमबार हैदराबाविरुद्धको खेलमा मुम्बईका ब्याट्सम्यान चल्न सकेनन्। यही खराब लयमा गए मुम्बईको पक्षमा नतिजा नआउन सक्छ।  

बलिङमा बोल्ट र बुमराहमा मुम्बई बढी निर्भर छ। दुई मध्ये एक नचलेको खण्डमा विपक्षी ब्याट्सम्यान मुम्बईमाथि हावी हुन सक्ने देखिन्छ। १९५ रन बनाउँदा पनि मुम्बई राजस्थानसँग ८ विकेटले पराजित भएको छ। मंगलबार नै हैदराबाद विरुद्धको खेलमा बुमराह र बोल्टको अनुपस्थितिमा १५० रन बनाउँदासम्म कुनै विकेट लिन सकेनन्। जुन मुम्बई जस्तो टोकीका लागि अनपेक्षित हो। 

२.दिल्ली क्यापिटल्स

क्यापिट्ल्सलाई पनि मुम्बई विरुद्धको पहिलो क्वालिफायरमा जित हात पार्दै सिधै फाइनल प्रवेश गर्ने दाउमा। समूह चरणमा ८ जित र ६ हारको नितजासहित १६ अंक जोड्दै दोस्रो स्थामा रहेको दिल्लीलाई मुम्बईमाथि जित हात पार्न त्यति सहज हुने छैन। 

बलिया पक्ष  

दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यरले राम्रो प्रदर्शन गरिरहेका छन्। बलिङमा कागिसो राबडा र एनरिच नोत्जेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। बलिङ दिल्लीको सबल पक्ष हो। 
धवनले २ शतक र ३ अर्धशतक सहित ५२५ र कप्तान अय्यरले २ अर्धशतक सहित ४२१ रन बनाएका छन्। राबडाले २३ र नोत्जेले १९ विकेट हात पारेका छन्। डेथ ओभरमा रावडा र नोत्जेको बलिङ उत्कृष्ट छ। ब्याटिङ बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सक्ने मार्कस स्टोनिस र अक्सर पटेलजस्ता अलराउण्डर पनि दिल्लीसँग छन्। 

कमजोर पक्ष 

ओपनर पृथ्वी शा लयमा नरहनु दिल्लीका लागि समस्या देखिएको छ। दिल्लीको मध्य क्रमको ब्याटिङ त्यति भरोसा योग्ग छैन। दिल्लीको तल्लोक्रम पनि बलियो छैन। पछिल्ला खेलमा हेर्दा धवन चलेका खेलमा मात्रै दिल्लीले राम्रो स्कोर बनाउन सकेको छ। तेस्रो नम्बरमा ब्याटिङ गर्न आइरहेका रहानेको ब्याटिङ सुस्त छ। २० ओभरको खेलमा केही ओभर सुस्त ब्याटिङ गर्दा पनि त्यसले स्कोरमा ठूलो फेरबदल हुनेगर्छ। दिल्लीका लागि हार्ड हिटरका रुपमा मानिएका मार्कस स्टोनिस र सिम्रोन हेटमायरले केहीमा बाहेक अधिकांश खेलमा राम्रो योगदान गर्न सकेका छैनन्। 

 ब्याट्म्यानको खराब सट सेलेक्सन पनि दिल्लीका लागि धातक बनि रहको छ। बैग्लोर विरुद्धको खेलमा पनि सेट भइसकेका शिखर धवन र अजिंका राहणे खराब सट खेल्दै क्याच आउट भएका थिए।  

३.सनराइजर्स हैदराबाद 

प्रतियोगितामा खराब सुरुवात गरेर पनि लय समात्न सफल भएको हैदराबाद  समूह चरणमा समान ७-७ जित र हारको नतिजा निकाल्दै १४ अंकको साथमा तेस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको छ। दिल्ली र मुम्बईको तुलनामा हैदराबादलाई फाइनल प्रवेश गर्न केही कठिन देखिन्छ किनकी उसलाई फाइनल पुग्नै २ जित आवश्यक छ।

बलियो पक्ष

हैदराबादको ब्याटिङका मुख्य हतियार कप्तान डेविड वार्नर लयमा देखिएका छन्। टिकेर खेल्न सक्ने र लामो सट प्रहार गर्न सक्ने वार्नर चल्नु  हैदराबादको बलियो पक्ष हो। मनिष पाण्डेले पनि राम्रो प्रदर्शन गरिरहेका छन्।  पछिल्ला खेलमा टोलीमा समावेश भएका वेस्ट इन्डिजका अलराउण्डर जनसन होल्डरले ब्याटिङ बलिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेका छन्। 

वार्नरले ४ अर्धशतक सहित ५२९ र पाण्डेले ३ अर्धशतक सहित ३८० रन बनाएका छन्। बलिङमा रशिद खान र टि नटराजन र सन्दीप शर्माले राम्रो योगदान गरिरहेका छन्।  रशिदले १९ विकेट लिँदा नटराजनले १४ विकेट हात पारेका छन् ।

हैदराबादका लागि डेथ ओभरमा टि नटराजन र सन्दिप शर्माले राम्रो प्रदर्शन गरिहेका छन् ।
ओपनर ऋद्धिमान शाहले लय हैदराबादका लागि राम्रो संकेत हुनसक्छ। उनले मुम्बईसँगको खेलमा ५८ रनको पारी खेलेका थिए। 
अलराउन्डर जोसन होल्डरको अगमन पछि हैदराबादले सुधारिएको प्रदर्शन गरिरेहेको छ। उनले ५ खेल खेल्दा १० विकेट लिनुका साथै २ पारीमा ब्याटिङ गर्दा ३१ रन बनाएका छन् ।

कमजोर पक्ष

शीर्ष क्रममा हैदराबादको ब्याटिङ बलियो भए पनि मध्यक्रम र तल्लोक्रम कमजोर छ। मध्यक्रममा भरोसायोग्य मानिएका केन विलियम्सनले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। केही खेलमा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याट्यम्यानहरु प्रियम ग्राग, अभिषेक शर्माले पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन्। 

४. रोयल च्यालेन्जर्स बैंग्लोर

प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेर पनि पछिल्लो समय लय समात्न सकेको छैन। पछिल्ला खेलमा खराब प्रदर्शन गरेर पनि भाग्यले साथ दिँदा बैग्लोरले प्ले अफमा स्थान  बनाउन सफल भयो। बैंग्लोरले समान ७ जित र  ७ हारको नतिजा सहित १४ अंकको साथमा चौथो स्थानमा रहेर समूह चरणको अन्त्य गरेको हो ।

बैग्लोर पाँचौ स्थानको कोलत्ता नाइटराइडर्ससँग बारबरी अंक भएर पनि नेट रनरेटमा थोरै माथि थियो। खराब लयबाट गुज्रिरहेको बैग्लोरका लागि  लगातार ३ खेल जित्दै उपाधी हात पार्न त्यति सहज छैन। 

बलियो पक्ष

बैंग्लोरका लागि ब्याटिङमा कप्तान विराट कोहली र देवदत्त पडिक्कल र एबी डेभिलियर्सले राम्रौ प्रदर्शन गरिरहेका छन्।  तथा बलिङमा युजवेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गरिहेका छन् ।

पडिक्कलले ५ अर्धशतक सहित ४७२ र कोहलीले ३ अर्धशतक सहित ४६० रन बनाएका छन्। चहलले २० विकेट हात पारेका छन्। टोलीमा अन्तिमसम्म राम्रो ब्याटिङ क्षमता भएका अलराउण्डर क्रिस मोरिस र इसुरु यदाना जस्ता खेलाडी पनि छन्। 

कमजोर पक्ष

सुस्त रन गति बैंग्लोरको सबैभन्दा मुख्य कमजोरी हो। उसका ब्याट्सम्यानले राम्रो प्रदर्र्शन गरेता पनि टिमले त्यसको फाइदा उठाउन सकेको छैन। बैग्लोरका २ ब्याट्म्यान उच्च रनकर्ताको शीर्ष मा रहेता पनि उनीहरुको स्ट्राइक रेट निकै कम छ। पडिक्कलको एभरेज रनरेट ३३.७१ हुदा कोहलीको ४६.०० छ। मध्य क्रममा एबी डिभिलियर्समा निर्भर रहनु बैग्लोरको चिन्ताको विषय हो।  पछिल्ल चार खेलमा उनी चल्न नसक्दा टिमले पराजय व्यहोरेको थियो। 

बैंग्लोरको डेथ बलिङ पनि राम्रो छैन। डेथ ओभरमा चहालले केही सन्तोषजनक प्रदर्शन गरे पनि उनलाई साथ दिने अन्य बलर नहुँदा बैग्लोरले खेल आफ्नो  पक्षमा पार्न सकेको छैन। चहलपछि क्रिस मोरिसले लिएको ११ विकेट नै बैग्लोरका लागि उच्च विकेट हो।  

एक-अर्का विरुद्ध समूह चरणको नतिजा

शीर्ष स्थानमा रहेको मुम्बईले समूह चरणका दोस्रो स्थानमा रहेको दिल्लीलाई दुवै खेलमा हराएको थियो। पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९ विकेटले दिल्ली मुम्बईसँग पराजित भएको थियो।  

चौथो स्थानमा रहेको बैंग्लोरले पहिलो खेलमा हैदरावादलाई १० विकेटले हराएको थियो  भने दोस्रो खेललमा हैदरावादसँग ५ विकेटको हार व्यहोरेको थियो। मुम्बईले पहिलो खेल बैंग्लोरसँग सुपर ओभरमा हारेको थियो। दोस्रो खेलमा बैंग्लोरलाई ५ विकेटले हराएको थियो। 

हैदरावाद र दिल्लीको समूह चरणको खेलमा हैदराबाद हाबी देखिन्छ। दुवै खेलमा दिल्ली हैदरावादसँग पराजित भएको थियो। पहिलो खेलमा १५ रनले हारेको दिल्ली दोस्रो खेलमा ८८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।  

मुम्बई र हैदरावादको खेलमा पनि एक-एक जित भएको थियो। पहिलो खेलमा मुम्बईले हैदराबादलाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा मुम्बई १० विकेटले पराजित भयो। 

बैंग्लोर र दिल्लीको समूह चरणको खेलमा भने दिल्ली हाबी भयो। पहिलो खेलमा दिल्लीले बैंग्लोरलाई ५९ रनले हराएको थियो। दोस्रो खेलमा ६ विकेटले हराउन सफल भयो। 

  


 

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार ७:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया