नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेल्ने छ ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदा निकै उत्साहित देखिएको छ । आठ नयाँ अनुहारले प्रवेश पाएको यो टोलीमा अभ्यासका क्रममा चोट भोगेका रोहित चन्द भने बाहिरै रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे । 

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर, महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रिपूर्ण खेल निकै चुनौती पूर्ण भएको उनले प्रतिक्रिया दिए । 

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिन्छन् । 

अखिल  नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पिसिआर परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १३:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया