ओलीलाई प्रचण्डको प्रश्न : तपाईले जबज अगाडि बढाउन खोज्नुभएको हो ?
नेपाल कम्युनिस्टपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आज पनि कुराकानी सकारात्मक हुन सकेनन् । 

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद अगाडि बढाउन खोज्नुभएको हो भनेर प्रश्न गर्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओली समूहले बुधबार राखेको प्रदेश १ स्तरीय जुम बैठकको विषयमा आपत्ति जनाउँदै ओलीलाई प्रश्न गरेको अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दियो । ‘के तपाईले जबज अगाडि बढाउन खोज्नुभएको हो ?’, भेटमा ओलीलाई प्रचण्डले प्रश्न गरे, ‘यदि तपाई (अध्यक्ष) ले नै त्यसो भनेको हो भने, त यो गम्भीर विषय रह्यो । यो आपत्तिजनक छ ।’ 

अहिलेको सन्दर्भमा ओलीले त्यस्तो कुरा भन्नु पार्टीएकता विरोधी कुरा भएको प्रचण्डनिकट एक नेताले बताए । उनले भने, ‘हिजो जुम मिटिङ गरेर जनताको बहुदलीय जनवादलाई नै अगाडि बढाउनुपर्छ । तपाईंहरू त्यैअनुसार तयारी गर्नुस् भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो ।’ बैठकमा अध्यक्ष प्रचण्डले ओलीले नै त्यस्तो भनिसकेपछि त स्थिति धेरै गम्भीर भएको भन्दै तत्काल पार्टीको बैठक बसाल्न अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर, बैठक बसाल्न बिहीबारको छलफलमा पनि ओली सकारात्मक देखिएनन् । प्रचण्डले ओलीसँग भने, ‘पार्टी कमिटीमै आफ्ना मतहरू छन् भने, यहीभित्र बसेर छलफल गरेर जाऊँ । सल्लाह गरौं ।’

यसैबीच मनमोहन सेन्टर एनेक्सको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिएको राजीनामा दिन्न भन्ने अभिव्यक्तिप्रति पनि प्रचण्डले आपत्ति जनाएका छन् । बेप्रासाङ्गिक रूपमा ओलीले राजीनामाको विषय उठाएको भन्दै दाहालले आक्रोश पोखे ।

‘अहिले राजीनामाको कुरा कसैले पनि गरेको छैन । यस्तो कुरा किन गर्नुभयो ?’, प्रचण्डले ओलीसँग भने, ‘अन्तर पार्टी निर्देशन–५ जुन जारी भएको छ, त्यसलाई कार्यान्वयन गरेर जाऊँ । पार्टी स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन गरेर जाऊँ भन्ने बाहेक त अरुले केही पनि भनेको छैन । राजीनामाको ‘र’ पनि उच्चारण भएको छैन । त्यस्तो कुरो किन गर्‍या तपाईले ?’ प्रचण्डले बैठकमा यदि कसैले राजीनामाका लागि दबाब दिएको जस्तो लाग्छ भने पार्टी कमिटीमा छलफल गरेर अगाडि बढ्न समेत प्रस्ताव गरेका थिए ।  

प्रचण्ड–नेपालले लिए वकिलसँग परामर्श



यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् । बिहीबार बिहान पेरिसडाँडामा भएको छलफलमा बार एसोसियनका पदाधिकारी र पार्टीनिकट कानुन सङ्गठनका पदाधिकारी उपस्थित थिए ।

उक्त छलफलमा वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपानिकट कानुन संगठनका इन्चार्ज देव गुरुङ र कानुन विभागका प्रमुख रघुजी पन्त समेत सहभागी थिए । पार्टीभित्र सङ्कट गहिरिँदै गएको भन्दै अध्यक्ष प्रचण्डसहित नेता नेपालहरू नियमित छलफल र परामर्शमा रहेका छन् । तर, छलफलमा पार्टीको विषय नभएर समग्र न्यायालय र बारको अवस्था, न्याय परिषद्को अवस्थाका बारेमा बिफ्रिङ गरिएको बैठकमा सहभागी एक नेताले बताए ।



  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १७:३२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया