प्रधानमन्त्री ओलीले अब चाल्ने सम्भावित ३ कदम
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली फेरि पार्टीभित्र कमजोर बनेका छन् । नेकपामा पछिल्लो समय देखिएको विवादमा आफूलाई थप कमजोर भएको आँकलन गरेका ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिन थालिसकेका छन् । 

यसको पछिल्लो उदाहरण हो– बुधबार उनले त्रिवि शिक्षण अस्पतालस्थित मनोमोहन सेन्टरको एनेक्स भवनको उद्घाटन गर्दा दिएको अभिव्यक्ति । त्यहाँ डाक्टर र नर्सका अगाडि र सरकारी कर्मचारीबीच भएको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा आफ्नो राजनीतिक दलभित्र अहिले चलिरहेको खिचातानीको प्रसंग निकालेका थिए ।

फेरि बिहीबार विहान बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुलाई थप राजनीतिक संकट गहिरिन सक्ने बताए । उनले त्यही बैठकमा अहिले कोटेश्वरमा तानाबाना बनाइएको भन्दै आफूले त्यो तानाबान निस्तेज बनाउने पनि बताएका थिए । 

आफ्नै पार्टीका मन्त्रीहरुसँग ओलीले आज जे भनेका थिए, त्यसबाट प्रष्ट हुन्छ, उनले पार्टीमा शीर्ष नेताहरुले आफूलाई एक्लाउन खोजेको आभास गरिसकेका छन् । 

त्यसैले अब उनी यसलाई कसरी ट्याकल गर्ने भन्ने अवस्थामा पुगेका छन् । 

उनले यो योजना बनाउनुका पछाडि उनले गरेका निर्णयमा अर्का अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले असन्तुष्टि पोख्नु हो । उनले आफूलाई समस्यामा पार्न नेकपाकै नेताहरुले खोजेको अनुमान गर्न थालेका छन्, आभास गर्न थालेका छन् ।



पहिले नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादका कारकहरुबारे छोटो चर्चा गरौँ ।

सबैभन्दा पहिले यो विवाद सुरु भयो, कर्णाली प्रदेशबाट । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओलीकै पक्षका नेताहरुले अविश्वासको प्रस्ताव ल्याए । हो, त्यो प्रस्ताव संसदमा प्रस्तुत नै भएन तर यसले नेकपामा एउटा ठूलो विभाजन अझै कायम रहेको प्रष्ट पार्यो ।



त्यसपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गरेर निर्णय गर्ने भन्ने जुन सहमति गरेका थिए, त्यसको विपरित विभिन्न देशमा राजदूत नियुक्त गरे । त्यसमा उनले आफूनिकट निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाए । 

अनि अर्थमन्त्री विष्णु पौडेल ल्याउने मात्र होइन, अन्य विषयमा पनि ओलीले पार्टीको सचिवालयमा छलफल गर्न आवश्यक ठानेनन् । 

त्यसैले अहिले नेकपाको विवाद जुन स्थानमा पुगेको छ, यसका कारण राजनीतिक वृत्तमा र नेकपाभित्रै पनि फेरि चर्चा सुरु भएको छ– अब नेकपा विभाजनको संघारमा पुगिसकेको छ । के साँच्चिकै नेकपा अब विभाजन होला ? 

‘नेकपामा अहिलेको विवाद मिल्दा पनि मिल्दैन, नेकपा विभाजन पनि हुँदैन,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘ओलीले न अब पार्टीमा सल्लाह गर्छन् न सल्लाह गर्ने समूह वा नेताहरुलाई मिल्न नै दिन्छन् ।’

यसका लागि ओलीले अब सम्भावित तीन कदम चाल्नेछन् । 

आउनुहोस्, ती कदमहरुबारे चर्चा गरौँ । 

 

१) डिभाइड एन्ड रुल

​प्रधानमन्त्री ओलीलाई राम्रोसँग थाहा छ, अहिले उनीविरुद्ध प्रचण्ड र नेपाल एकै ठाउँमा उभिएका छन् । नेपाल र प्रचण्डले पछिल्लो समय आफ्ना भेटघाट पनि बढाउन थालेका छन् । बिहीबार त यी दुई नेताले लामो समय पेरिस डाँडामा बिताए । उनीहरु एक ठाउँमा हुँदा नेकपाका अर्का नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम पनि उनीहरुसँग नजिक देखिन्छन् । 

त्यसैले ओलीले अब अवलम्बन गर्ने बाटो भनेको डिभाइड एन्ड रुल हो । 

प्रधानमन्त्री ओली नेपाल–प्रचण्डको यो समीकरण फेर्न चाहन्छन् । त्यसैले उनले दुवैलाई एकै पटक होइन, छुट्टाछुट्टै समयमा भेटिरहेका छन् । अनि दुवैलाई एउटै किसिमको अफर पनि गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र नेकपा नेता नेपाललाई भेटाएर अब एकता महाधिवेशनमा अध्यक्षमा ओलीको समर्थन नेपाललाई रहने बताएका थिए । स्रोतका अनुसार उनले नेपाललाई भनेका थिए– पार्टी माओवादीको हातमा दिने होइन, यसका लागि हामी मिलौँ, भोलि एकता महाधिवेशनपछि तपाईंलाई नै अध्यक्ष बनाऔँला ।

नेपाललाई यस्तो आश्वासन देखाएका ओलीले बारम्बार प्रचण्डमाथि प्रहार गर्ने अस्त्र हो– प्रचण्ड त अहिले नेकपाका कार्यकारी अध्यक्ष हुन् नि । अहिले विवाद निस्किएपछि पनि उनले प्रचण्डसँगका भेटमा नेपालको आलोचना गर्न थालेको नेपालनिकट एक नेताले फरकधारलाई बताएका छन् । 

यसको अर्थ हो, ओली प्रचण्ड–नेपाल समीकरण पहिले फुटाउन चाहन्छन् । अर्थात् उनी यी दुईलाई विभाजित गर्न चाहन्छन् र आफू नै सत्ता र शक्तिमा रहिरहने दाउमा हुनेछन् ।

 

२) राष्ट्रपतिलाई प्रयोग गर्ने, देश संकटमा जानसक्छ भनेर तर्साउने

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो फाइदा र सहजताका लागि प्रयोग गरेका छन् । यसअघि पार्टी फुटाउन सहज हुने गरि अध्यादेश ल्याउँदा होस् या यसअघि नेकपा विवाद मिलाउन सहजीकरण गर्नका लागि किन नहोस्, राष्ट्रपति भण्डारीले पनि ओलीको पक्षमा सहयोग गर्दै आएकी छिन् । 

दुई दिनअघि मात्र उनले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर आधा घन्टा परामर्श गरेकी थिइन् । त्यो छलफलमा उनले गौतमलाई अब पार्टी फुटबाट जोगाउन भूमिका खेल्नु पर्ने बताएकी थिइन् । 

अन्य नेताहरुलाई पनि राजनीतिक संकट निम्तिन सक्छ भन्ने विषयमा चर्चा गर्न राष्ट्रपतिलाई अनुरोध गर्न सक्छन्, प्रधानमन्त्री ओलीले । 

यस्तो भएको खण्डमा अहिले नेताहरुले आफूलाई समर्थन गर्नुको विकल्प नहुने उनले देखेका छन् ।

सँगसँगै उनले अब विस्तारै मदन भण्डारीकृत जबजलाई बढी प्राथमिकता दिन थालेका छन् । मदन फाउन्डेसनलाई थप बलियो बनाउने र आफूलाई जनस्तरमा फेरि एकपटक समर्थन ल्याउन पनि ओली अगाडि बढ्न सक्छन् ।

 

३) अध्यादेश ल्याउने, पार्टी फुटाउने

पछिल्लो समय नेकपामा देखिएको विवाद पछि फेरि एकपटक सबैभन्दा चर्को रुपमा उठ्न थालेको प्रसंग हो– कतै नेकपा विभाजन हुने त होइन ?

यो प्रश्न उठ्नु स्वभाविक किन हो भने यसअघि प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश नै ल्याएका थिए । त्यति बेला त्यो अध्यादेशको लक्ष्य मधेशकेन्द्रीत दललाई हटाउनु भन्ने तर्क ओलीले दिएका थिए । तर, यसमा उनकै पार्टीका नेताहरुले पनि विश्वास गरेनन् । 

अब फेरि ओलीले यस्तै अध्यादेश ल्याउने र पार्टी फुटाउन सक्ने सम्भावना बढेको छ । झन्, पछिल्लो समय माधवकुमार नेपाल र प्रचण्डनिकट मानिएका नेताहरुको साथ पाएपछि ओलीले यो कदम चाल्न सक्छन् भन्ने अनुमान धेरैले गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २०:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया