कांग्रेस शीर्ष नेताको बैठकमा 'ओलीविरुद्ध अविश्वास प्रस्ताव'को चर्चा !

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादका कारण नेपाली राजनीतिक तरंगित छ । केहीअघि मात्र नेकपाकै केही नेताहरुले यो विवादको प्रतिफल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई महंगो पर्ने अनुमान गरेका थिए । त्यो अनुमान थियो– प्रचण्ड–नेपालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्छन् !

नेकपाभित्रको यो अनुमानले अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि तरंगित भएको छ । त्यसैले हुनुपर्छ, बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पनि यस विषयमा व्यापक चर्चा भयो । 

स्रोतका अनुसार नेपाली कांग्रेसका केही नेताहरुले बैठकमा सभापति देउवालाई सोधेका थिए– नेकपाको कुरा के हो ?

देउवाले यसबारे सोझो जवाफ त्यहाँ दिएनन् । उनले अहिले आफू नेकपाका दुवै समूहसँग लगातार सम्पर्कमा रहेको जवाफ दिएका थिए । 

‘ओली र प्रचण्ड दुवैसँग म बारम्बार सम्पर्कमा छु,’ देउवाको भनाइलाई एक नेताले उद्धृत गरे, ‘उनीहरु नै अहिले के गर्ने भन्ने अन्योलमा रहेका छन् । यसमा हामीले के गर्ने भन्ने कुरा त्यसपछि मात्र आउँछ ।’

बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कांग्रेसले त्यसमा कस्तो भूमिका खेल्ने भन्ने टुङ्गोमा पुग्ने गरि बैठकमा छलफल भएन । 



‘अहिले नै यो निचोड निकाल्नु ठिक हुँदैन भन्ने भयो,’ ती नेताले भने, ‘पहिले यसमा नेकपाको के कुरा आउँछ भन्ने रह्यो । त्यसपछि मात्र यसमा हामी के गर्ने भन्ने छलफल गर्नु ठिक होला ।’

कांग्रेस सभापति देउवाले पछिल्लो नेकपा विवादका कारण दुई विकल्प निस्कने सक्ने सम्भावना देखेका छन् । पहिलो, ओलीविरुद्ध अविश्वासको प्रस्ताव देउवाले लैजाने र दोस्रो प्रचण्डले अविश्वासको प्रस्ताव ल्याए त्यसमा सहमति जनाउने । 



यीमध्ये पहिलो विकल्प नेपाली कांग्रेसका लागि नै घातक हुन सक्ने छलफल पनि आजको बैठकमा भएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेसले अविश्वासको प्रस्ताव लैजाने तयारी गरिसकेपछि फेरि नेकपामा अहिलेको विवाद अन्त्य भएमा यसले ब्याकफायर हुने आजको बैठकमा छलफल भएको ती नेताले जनाए । नेकपाका नेताहरुले नै अविश्वासको प्रस्ताव ल्याएमा कांग्रेसले कस्तो भूमिका खेल्नेबारे पनि आजको बैठकमा छलफल भएको थियो तर यसको कुनै निष्कर्ष ननिस्किएको ती नेताले फरकधारलाई बताए ।

आज कुनै पनि विषयमा पूर्ण निष्कर्ष ननिस्किएपछि शीर्ष नेताहरुको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

आजको बैठकमा सुरुवातमा नै सभापति देउवाले विभागहरुबारे कुनै छलफल नगर्ने बताएका थिए । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आजको बैठकमा आफ्ना मागहरुमाथि छलफल हुनु पर्ने बताएका थिए । 

आज यो बैठक बसेपछि कांग्रेसको शुक्रबार हुने भनिएको केन्द्रीय कमिटी बैठक २५ कार्तिकका लागि सारिएको छ । कांग्रेसले पछिल्लो समय विभिन्न कारण देखाउँदै केन्द्रीय कमिटी बैठक सारेको यो ११ औं पटक हो ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २१:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया