तिहार नजिकियो, भाइमसलाको छैन व्यापार

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ ।

भाइमसलाको मूल्य घटे पनि कोरोनाको जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ ।

भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् । यी मसलाहरुको गुणस्तर अनुसार फरक भए पनि विगत वर्षभन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए । मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उनले बताए ।

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरूलाई समान प्रकारले छुट सुविधा भए पनि खुद्रा पसलहरूमा मूल्य फरक पाइएको हो । सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरू किनमेलका लागि आउने गरेको उनको भनाइ छ । 

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ । होटल, रेस्टुरेन्ट, मिठाइ पसलहरूमा मसला बिक्री हुने गरेको भए पनि कोरोनाका कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो ।

व्यापारीहरुले धरै समयसम्म गोदाममै सामान राख्दा बिग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिले पनि कोरोनाको जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार २०:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया