नेकपा झनै स्पातिलो बन्छ : भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताए ।

गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आइतबार मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उनीहरु पार्टी एकताकै पक्षमा रहेको बताए । पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहेकाले उनीहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए ।

उनले पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको बताए ।

पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए । पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पङ्क्तिलाई उनले विश्वास दिलाए ।

यता स्थानीय कार्यकर्ताले कुनै पनि हालतमा पार्टी फुट्न नहुने बताएका छन् । हाल शीर्ष नेतृत्वबीच भइरहेको द्वन्द्वको प्रभावले सकारात्मक सन्देश नदिएको बताउँदै कार्यकर्ताले पार्टी एकताका लागि मन्त्री भट्टराईमार्फत पार्टीका अध्यक्षद्वयलाई दबाब दिएका छन् ।

ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईसमक्ष मिक्वाखोला गाउँपालिकाका कार्यकर्ताले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १७:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया