भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ नभ्याई

दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरू बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरूलाई भ्याइनभ्याई छ । 

अन्य समयमा माटाका भाँडाहरू फाटफुट विक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन व्यस्त देखिन्छन् । 

कोरोना संक्रमणका कारण यसवर्ष माटाका भाँडाको व्यापारमा असर परेको छ । यस वर्ष माग नै कम भएको कृष्णश्याम प्रजापतिले बताए । उनले गत वर्ष दैनिक तीन-चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधाभन्दा कम मात्रै बिक्री हुने गरेको बताए । 

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुने गर्छ । 

आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिँदा सजिलो भएको उनीहरुले बताए । 

माटाको भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । भक्तपुरका अधिकांश क्षेत्रमा घना बस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अबको आठ-दश वर्षमा पेस नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ । 



प्रजापति समुदायले अँगाल्दै आएको यो पेसा निकै पुरानो हो । त्यसैले यो पेसालाई बचाई राख्नुपर्ने देखिन्छ । तर, परम्परागत पेसालाई बचाउनका लागि आफूहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । 



  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १२:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया