logo-img

कम्युनिस्ट सरकारले देशमा अस्थिरता र भ्रष्टाचारलाई प्रश्रय दियो :  सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताएका छन् ।

पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिस्टहरूले जनताबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको बताए । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए ।

पहिलो संविधानसभामा जनताले म्यान्डेट दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेट विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको बताए । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए ।

प्रधानमन्त्री आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्न भन्ने, तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाको संरक्षण गर्ने कस्तो प्रतिबद्धता हो भनी सिंहले प्रश्न गरे । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उनले बताए । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको उनले आरोप लगाए ।

सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताए ।

सरकारले संघीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाएका छन् । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाइका रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए । 



नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने बताए । चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गरे । महाधिवेशनका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनले बताए । यस्तै प्रजातान्त्रिक पार्टी भित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग उनले गरे ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरु पनि सच्चिनुपर्ने बताए ।



  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया