सर्वोच्च कमान्डर गणेशमान सिंहको १०६ औं जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको संवाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालीन समयमा राष्ट्रिय एकताका लागि सिंहले खेलेको भूमिको नेताहरुले प्रशंसा गरेका छन् ।
सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमान सिंहले राष्ट्रिय एकताका लागि लिएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताए ।
राष्ट्रिय एकताका लागि सिंहले लिएका कदम कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित भएको उनले बताए । कम्युनिस्ट र कांग्रेस भनेर सधैं विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराएको सापकोटाले बताए ।
उनले भने, ‘गणेशमान सिंह राष्ट्रिय एकताका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ कांग्रेस र कम्युनिस्ट भनेर विभिन्न विवाद, बहस हुने गर्थे उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृह गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस कम्युनिस्ट नभनी नेपालको संविधान जारी गर्न सकेका हौँ ।’
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताए । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिलाई पेसाका रुपमा लिने गरेको भए पनि सिंहले राजनीतिलाई सधैं सेवाका रुपमा लिने गरेको उनले स्मरण गरे ।
नेम्वाङले भने, ‘अहिले राजनीतिमा लागेकाहरूको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरु प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक-पटक हुनुपर्छ भन्ने छ । म आफैं आग्रह गर्छु । राजनीति पेसा होइन सेवा हो । त्यति बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफू प्रधानमन्त्री हुनुभएन । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरुभन्दा अगाडि उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडि आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने रहेनछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले सिंहले संगठन-सरकारमा जहाँ भए पनि आफ्नो फरक मत राखे पनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताइन् । पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंह क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरूले सिक्न जरुरी रहेको उनले बताइन् ।
उनले भनिन्, ‘संगठन वा सरकारमा जहाँ भए पनि उहाँले आफ्नो विचार राख्नुहुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनीतिक दल कमजोर हुनेगरी कहिले पनि आफ्नो काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताए । चीनले सगरमाथामा आफ्नो दाबी गर्दा बिपी कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उनले बताए ।
सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरू प्रकाशनको तयारी गरेको बताए । उनले ७९ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफू रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।