बाइडेनको जितले विश्वमा के बदलिन्छ ? नेपाललाई फाइदा के ?

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणामले डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित गरिदिएको छ । यद्यपि वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बाइडेनको जित अवैधानिक भएको आरोप लगाइरहेका छन् । अमेरिकी जनताको वैधानिक मतका आधारमा आफू नै राष्ट्रपतिमा विजयी भएको ट्रम्पको दाबी छ । ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै अदालत जाने चेतावनी दिइरहेका छन् ।

ट्रम्पले सहजै हार स्वीकार नगरे पनि इलेक्टोरल कजेल भोटका आधारमा बाइडेनले निर्वाचन जितिसकेका छन् । अमेरिकामा अब बाइडेनलाई राष्ट्रपति पदमा आसिन गराउनका लागि प्रक्रिया अगाडि बढ्नेछ ।

प्रायः गरी अमेरिकी राजनीतिमा करिब ३ दशकदेखि हरेक राष्ट्रपतिले दोस्रो कार्यकाल पनि शासन गर्ने मौका पाएका थिए । सन् १९९३ को राष्ट्रपति निर्वाचनमा तत्कालीन राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार जर्ज एच डब्लू बुस दोस्रो कार्यकालका लागि उम्मेदवार हुँदा पराजित भएका थिए । बुसलाई जितेर राष्ट्रपति बनेका डेमोक्राटिक पार्टीका उम्मेदवार बिल क्लिन्टनले दुई कार्यकाल नै राष्ट्रपति बन्ने मौका पाए । त्यसपछिका जर्ज डब्लु बुस र बाराक ओबामा पनि दोस्रो पटक पनि राष्ट्रपति निर्वाचित हुन सफल भए । ट्रम्पको पराजयसँगै अमेरिकी राजनीतिको एक खालको लयमा क्रमभंग भएको छ ।

आगामी कार्यकालका लागि पनि ट्रम्पले नै जित्ने आँकलन गरिएको थियो । प्रारम्भिक मतगणनामा धेरै इलेक्टोरल भोट भएका राज्यमा अग्रता बनाइरहँदा ट्रम्पले नै जित हात पार्ने लक्षण देखिएको थियो । सुरुमा अग्रता बनाएका धेरै राज्यमा ट्रम्प पछि पर्दै गए । नतिजा बाइडेनको पक्षमा गयो । 

बाइडेन राष्ट्रपति बन्ने पक्का भएपछि अब विश्व व्यवस्थामा के परिवर्तन होला ? अमेरिकाको नयाँ रणनीति कसरी अगाडि बढ्ला ? भन्ने चर्चा भइरहेको छ ।  बाइडेनको जितलाई ठूलै परिवर्तन वा कायापलटका रूपमा पनि अर्थ्याइएको  छ । यसले विश्व राजनीतिमा नयाँ हलचल र बदलाव ल्याउने त हैन भन्ने चर्चा गरिएको छ । 

बाइडेनको जित कायापलट हो ? 



एक शक्तिशाली राष्ट्रको नेतृत्वका विषयमा चासो र चर्चा धेरै भए पनि निर्वाचनको परिणाम स्वाभाविक प्रक्रिया भएको परराष्ट्रविद्हरुको भनाइ छ । अमेरिकी राष्ट्रपतिका रुपमा निकै रवाफ देखाइरहेका आक्रामक स्वभावका ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदैछन् । यो यथार्थता अलि अनपेक्षित जस्तो लागे पनि ठूलै उलटपुलटको घटना नभएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू बताउँछन् । 

विश्व व्यवस्थामा प्रभाव



दोस्रो विश्वयुद्ध (१९३९–१९४५) पछि महाशक्ति राष्ट्रका रूपमा उदाएको अमेरिकाले करिब आधा शताब्दी विश्वका दुई महाशक्ति ध्रुबमध्ये एकको नेतृत्व गर्‍यो । शीतयुद्ध कालमा अमेरिका विश्वमा उदार पुँजीवादी व्यवस्थाको नेतृत्व गरेर सोभियत संघसँग टक्कर लिइरहेको थियो । 

सन् १९९० को दशकमा सोभियत संघ विघटन भएपछि आफूलाई विश्वको निर्विल्प महाशक्ति र नेतृत्वकर्ता भएको दाबी अमेरिकाको थियो । विश्वभर आफ्ना रणनीति लागु गर्न र हस्तक्षेपकारी भूमिकामा अमेरिका प्रस्तुत भएको थियो । सोभियत संघको पतनपछि रुसले पनि आफूलाई एक शक्ति राष्ट्रका रुपमा उभ्याउने प्रयत्न गरिरह्यो । तर उसले त्यस किसिमको भूमिका निभाउन र विश्व व्यवस्थामा खासै प्रभाव पार्न सकेन । 

पछिल्लो दशकमा एसियाली राष्ट्र चीन आर्थिक र सामारिक रुपमा निकै बलियो बन्दै गइरहेको छ । विश्वभर एकछत्र प्रभाव जमाउन खोज्ने अमेरिकाको आक्रामक नीतिलाई सन्तुलनमा ल्याउने एक शक्ति आफू भएको सन्देश चीनले दिइरहेको छ । अमेरिकाको गिर्दै गएको शक्ति पुनर्जीवित गर्ने प्रतिबद्धता ट्रम्पले अघिल्लोपटक गरेका थिए । चीनविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए । पछिल्लो समय कोरोना संक्रमण फैलिनुमा पनि चीन नै जिम्मेवार रहेको भन्दै ट्रम्प चीनमाथि खनिन छाडेका छैनन् । 

अब ट्रम्पको ठाउँमा बाइडेनले सत्ता सम्हालेपछि अमेरिकी रणनीति कस्तो होला ? विश्व राजनीति र विश्व व्यवस्थामा कस्तो तरङ्ग आउला अहिले यसका अड्कलबाजी सुरु भएका छन् ।

लामो समयदेखि चल्दै आएको अमेरिकी नीतिमा राष्ट्रपति फेरिँदैमा तात्त्विक परिवर्तन नहुने विज्ञहरूको ठहर छ । 

ट्रम्पको आक्रामक नीतिले उनको पालामा विश्व पुनः शीत युद्धमा जाने हो कि भन्ने आशंका पैदा भएको परराष्ट्रविद् डा. दीपकप्रकाश भट्ट बताउँछन् । चीन उदाउँदो शक्ति भएको र चीनविरुद्ध ट्रम्पको आक्रामक नीतिका कारण त्यो सम्भावनाबारे चर्चा हुने गरेको उनको भनाइ छ । 

बाइडेनको जितपछि चीनसँग ट्रम्प प्रशासनको पालामा भएका टकराब कम हुने र मेलमिलापको दिशामा जान्छ कि भनी अनुमान लगाउन सकिने अन्तर्राष्ट्रिय मामिला विज्ञ डा. रूपक सापकोटाका बताउँछन् । अहिल्यै त्यो परिस्थितिको आँकलन गरिहाल्न भने नसकिने उनको भनाइ छ ।

अमेरिकामा जुनसुकै राष्ट्रपति आए पनि त्यहाँको रणनीतिगत मुद्दामा परिवर्तन आउने सम्भावना देखिँदैन । विचारधारात्मक रूपमा कुनै मुलुकलाई हेर्ने अमेरिकी नजर, चीन मुख्य प्रतिस्पर्धी मान्ने अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने सापकोटाको ठहर छ ।

अमेरिकी नीतिको अनुकुलतामा नचल्ने सरकार भएका राष्ट्रहरूमाथि अमेरिकाले अनेकौँ तरिकाबाट दबाब सिर्जना गर्दै आएको छ ।

क्युवा, भेनेजुएला, बोलिभियाजस्ता ल्याटिन अमेरिकी देश, एसियाका उत्तर कोरिया, इरान, युरोपको सिरिया यसका उदाहरण हुन् । इराक, अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने सवाल पनि बेला बेलामा नउठेको भने होइन । 

बाइडेन राष्ट्रपतिका निर्वाचित हुँदैमा यस खालका अमेरिकी नीतिमा कुनै बदलाव आउने अपेक्षा गर्न नसकिने परराष्ट्रविद् सापकोटाको बुझाइ छ ।  ‘विगतका पृष्ठभूमि हेर्दा पनि फरक अपेक्षा गर्न सकिन्न यद्यपि बाइडेनले ट्रम्पको भन्दा कूटनीति तरिका अपनाउन सक्छन्’, सापकोटा भन्छन् ।

ट्रम्पले विश्वमा अमेरिकाको भूमिका खुम्च्याउँदै लगेकोमा बाइडेनले त्यसमा परिवर्तन ल्याउने विश्वास जानकारहरूको छ । आफ्ना साझेदार राष्ट्रहरूसँग भएका सम्झौताहरूबाट पछि हट्ने, संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाबाट हात झिक्दै जाने ट्रम्पका नीति बाइडेनले नपछ्याउने आँकलन गरिएको छ ।

विगतमा अमेरिकाकै अगुवाइमा स्थापित भएको उदारवादको खुला व्यापार नीतिले अमेरिकालाई नै असर परेका निचोड ट्रम्पको थियो । यसबाट चीनले धेरै फाइदा लिएकाले यसको विकल्पबारे सोच्नुपर्ने ट्र्रम्पको धारणा थियो ।

अमेरिकाले कुरा गर्दै आएको विश्व व्यवस्था, विश्वको नेतृत्व गर्ने कुरा अन्तर्राष्ट्रिय संघ संगठनहरूका माध्यमबाट अमेरिकी अथवा पश्चिमा प्रभुत्वलाई बढाउने जस्ता नीतिलाई ट्रम्पले बेवास्ता गरेका थिए । बाइडेनले यी विषयमा पहल कदमी लिने विश्वास अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूको छ ।

विश्वमा अमेरिकाका महत्त्वपूर्ण सहयोगी मानिएका बेलायत, फ्रान्स, जापान, कोरियाजस्ता साझेदार मुलुक टाढिएर नभई बलियो सम्बन्ध बनाएर बाइडेनले अमेरिकी प्रभुत्व कायम राख्न प्रयत्न गर्ने परराष्ट्रविज्ञ सापकोटाको छ ।

ट्रम्प निरन्तरता भएको खण्डमा अति राष्ट्रवाद र अति लोकप्रियातावादको नाराभित्र विश्वमा नश्लीयतावाद र पुरातन प्रवृत्ति हावी हुने चिन्ता रहने विज्ञहरू बताउँछन् । ट्रम्पको पराजयले विश्वभर त्यस खालका शक्तिले टाउको उठाउन हिम्मत नगर्ने अनुमान विज्ञहरूको छ ।

अमेरिकामा प्रभाव 

बाइडेनको विजयले अमेरिका पहिलो भन्ने नाराका साथ निर्वाचन जितेका ट्रम्पलाई ४ वर्षे कार्यकालमा सोही नारा भारी परेको विश्लेषण गर्न थालिएको छ । बाइडेनको विजयले गोरा र पुराना अमेरिकी अनि काला र ल्याटिन अमेरिका, अफ्रिका एसिया लगायतबाट गएका अमेरिकी बीच खडा गर्न खोजिएको खाडल पुरिने विश्वास गरिएको छ ।

अमेरिकामा मौलाउन लागेको जातीय र नश्लीय रंग मत्थर हुने अनुमान विज्ञहरूको छ । 

विश्वव्यापी संलग्नता, खुला व्यपार नीति, साझेदार संस्था तथा राष्ट्रहरूबाट पन्छिएर नभई यसैका बलमा अमेरिकाको शक्तिलाई कायम राख्ने प्रयत्न बाइडेनको हुने परराष्ट्र मामिलाविद् सापकोटा बताउँछन् । 

‘ट्रम्प प्रशासनको अमेरिका पहिलो नीति अगाडि सारेपछि बहुपक्षीय कूटनीति कमजोर भएको थियो ।’ कुनै मुलुकलाई विभिन्न आशंकाका आधारमा आक्षेप लगाउने आरोपप्रत्यारोपमा उत्रने क्रम ट्रम्पका पालामा थियो, परराष्ट्र मामिला विज्ञ सापकोटाले भने, ‘अब बाइडेन आएपछि त्यो प्रवृत्ति रोकिन्छ कि भन्ने अनुमान लगाउन सकिन्छ ।’ 

ओबामाको दुई कार्यकालमा उपराष्ट्रपति रही काम गरिसकेको अनुभव बाइडेनसँग छ । कतिपय मुलुकमा अहिलेका राष्ट्रप्रमुखसँग बाइडेनले आफ्नो उपराष्ट्रपति कालमा नै कूटनीतिक सम्बन्ध बनाएका छन् । जस्तो चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ओबामा प्रशासनको पालादेखि नै बाइडेनले भेटघाट तथा सम्बन्ध कायम राख्दै आएको परराष्ट्रविद् सापकोटाले जानकारी दिए ।

ट्रम्पका पालाका केही अर्थनीतिहरू पनि बदलिन सक्ने विज्ञहरूको भनाइ छ ।

कोभिड नियन्त्रण र रोकथाममा ट्रम्पले मुर्ख्याइँ गरेको आरोप लाग्दै आएको छ । कोरोनाबाट धेरै संकमित हुने र मृत्यु हुनेमा अमेरिका विश्वमै पहिलो हुनु ट्रम्पकै गलत नीति जिम्मेवार रहेको आरोप लाग्दै आएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा ट्रम्प प्रशासनले अबलम्बन गर्दै आएको नीतिमा फेरबदल हुनसक्ने परराष्ट्रविज्ञ डा. रुपक सापकोटा बताउँछन् ।

नेपालमा प्रभाव

अमेरिकाको नेपाल नीति कस्तो रहन्छ भन्ने विषय उसको दक्षिण एसिया नीतिबाट निर्देशित हुने विज्ञको भनाइ छ ।

आफ्नो मुख्य प्रतिस्पर्धी मानेको चीनलाई हेर्ने अमेरिकी नजर ट्रम्प वा बाइडेन राष्ट्रपति हुँदैमा फरक नपर्ने उनीहरू बताउँछन् । विचारधारात्मक रूपमा ट्रम्प र बाइडेनले अपनाउने रणनीतिमा कुनै भिन्नता नहुने विज्ञहरूले बताए । 

अमेरिकाले दक्षिण एसियाको एक शक्ति राष्ट्र भारतसँग सैन्य सहकार्य बढाइरहेको छ । यही अक्टुबरको अन्त्यमा अमेरिकाको ट्रम्प प्रशासन र भारतबीच महत्त्वपूर्ण सम्झौता भएको छ । भारतका परराष्ट्रमन्त्री र रक्षामन्त्री अनि अमेरिकाका परराष्ट्र मन्त्री र रक्षामन्त्री बीच दिल्लीमा आधारभूत आदानप्रदान तथा सहयोग सम्झौता (बेका सम्झौता) भएको छ । यसको अन्तर्य चीनको बढ्दो प्रभावलाई रोक्न भारत अमेरिका मिलेर अघि बढ्ने भन्ने नै रहेको छ । 

अमेरिकामा जोसुकै सत्ताशीन भए पनि यस सम्झौताको मर्मलाई बाइपास गर्न सक्ने देखिँदैन । यस विषयमा भारतीय नेतृत्व र बाइडेनका बीचमा मतैक्य हुने विश्वास परराष्ट्रविद् सापकोटाको छ । बाइडेन प्रशासनका लागि उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिससँग दक्षिण एसिया कनेक्सनका कारण यो क्षेत्र अझै बढी अमेरिकी चासोमा पर्न सक्ने देखिन्छ ।

दक्षिण एसियाली राष्ट्र तथा भारतसँगै नेपालमा अमेरिकी नीतिको प्रभाव विस्तार हुनसक्ने अनुमान विज्ञहरूको छ । 

क्षेत्रीय नीतिको कुरा गर्दा अमेरिकाको राष्ट्रपति परिवर्तनले नेपालको नीतिमा खासै प्रभाव नपार्ने, विगतका दृष्टान्तले देखाएको सापकोटा बताउँछन् । ‘खासै ठूलो बदलाव आउँछ जस्तो लाग्दैन’ सापकोटा भन्छन्, ‘अमेरिकी विदेशमन्त्रीले श्रीलंका, माल्दिभ्सजस्ता राष्ट्रको भ्रमण गर्दा नेपालको भ्रमणका कुनै चासो देखाएनन् । यसले पनि नेपालमा अमेरिकाको ठूलो चासो नभएको अर्थमा बुझ्न सकिन्छ ।’

नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणपछि चाहिँ नेपालमा पनि अमेरिकी चासो बढेको भन्ने बुझाइ छ । नेपालले आफ्नो कूटनीतिक प्रभाव बढाएर नेपालको विकास र समृद्धिका लागि अमेरिकासँग सम्बन्ध बढाउन कस्तो प्रकारको रणनीति अपनाउँछ भन्ने कुराले पनि अमेरिकी नीति कस्तो हुने भन्ने अर्थ राख्ने सापकोटाले स्पष्ट पारे । 

अमेरिका राष्ट्रपति परिवर्तन हुँदैमा अमेरिकाको विदेश नीति कूटनीतिमा कुनै तात्त्विक परिवर्तन नहुने परराष्ट्रविज्ञ भट्टको ठहर छ । बाइडेनले निर्वाचन जितेकोमा नेपाल र अमेरिकाको सम्बन्ध अहिलेभन्दा सुधार हुने अपेक्षा उनको छ । 

ट्रम्पको पराजय विश्वलाई पाठ 

ट्रम्पले अघिल्लो निर्वाचनमा जे–जे पपुलिस्ट एजेन्डा बोकेर आएका थिए तिनको उपादेयता स्थापित गर्न नसक्नु उनको हारको मुख्य कारण रहेको विज्ञको आँकलन छ । उनका ती एजेन्डाहरू एक सुसंस्कृत समाज र व्यवस्थाले रुचाउने खालका नभएको परराष्ट्र मामिला विज्ञ डा. दीपकप्रकाश भट्ट बताउँछन् । जनमत तान्नका लागि लोकप्रिय नारा केही समय काम लागे पनि त्यो दीर्घकालीन नहुने तथ्य ट्रम्पको पराजयले स्थापित गरेको भट्टको भनाइ छ । 

अमेरिकामा ट्रम्पको पराजय विश्वमा अन्य मुलुकका शासक तथा निर्वाचनमा होमिएका आकांक्षीका लागि एक गतिलो उदाहरण हुने दाबी परराष्ट्रविद् भट्टको छ । 

‘चर्का र खोक्रा नारा ल्याएर निर्वाचन जिते पनि त्यो टिकाउ हुँदैन भन्ने यो सन्देश संसारलाई हो’, डा. भट्टले भने ।  नेपाल लगायत जुनसुकै व्यवस्थाका लागि पनि यो मननयोग्य पाठ भएको उनको बुझाइ छ । 

लामो लोकतान्त्रिक अभ्यास भएका, सुसूचित मतदाता भएका मुलुक र फरक राजनीतिक संस्कार भएका मुलुकमा उही तरिकारले तुलना गर्न भने नहुने भट्ट बताउँछन् ।

विश्वव्यापीकरणको बढ्दो प्रभाव, सूचनाको छिटो र सहज पहुँचले कुनै ठाउँको परिघटना मूल्यांकन गर्न र अन्त पनि लागु हुनसक्ने उनले स्पष्ट पारे । ‘अमेरिकी निर्वाचनको परिणाम मूल्यांकन गरी त्यसका आधारमा निर्णय गर्न सजिलो हुनसक्छ’ डा. भट्टले भने । तत्काल वा केही महिनाभित्र हुने विश्वका अन्य मुलुकका निर्वाचनलाई पनि ट्रम्पको पराजय एउटा पाठ हुने भट्टको ठम्याइ छ ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १६:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया