उठ्नु र हिँड्नु नै जीवन हो

उनको जीवन नै पहाड भइसकेको थियो। 

निमोनियाको संक्रमण मुटु र दिमागसम्मै पुगेपछि बिरामीको शारीरिक अवस्था साह्रै कमजोर बन्छ। शरीरको बाहिरी भागमा समस्या रहँदासम्म हामी आफूलाई सम्हाल्न सक्छौँ, तर भित्री समस्याले हामीलाई कमजोर मात्र बनाउँदैन, आत्मविश्वास पनि विस्तारै कम हुँदै जान्छ।

ती महिलालाई यस्तै भइरहेको थियो। निमोनियाले उनको दिमाग र मुटुलाई शिथिल बनाउँदै थियो। अमेरिकामा आज पनि निमोनियासँग मान्छे डराउँछन्, त्यो बेलाको अवस्था कति भयावह र जटिल थियो होला हामी कल्पना गर्न सक्छौँ। सास भित्र लिँदा पनि पीडा, फाल्दा झनै पीडा। पीडासँग उनको सम्बन्ध सिक्काका दुई पाटा जस्तै भइसकेको थियो, कहिल्यै अलग नहुने।

श्रीमान् डाक्टर भएकाले उनलाई धेरै राहत मिलेको थियो। डाक्टर पति साथमा हुँदा उनलाई लाग्थ्यो– साथमा कोही छ, जसले जीवनको आशाको डोरी कसिलो गरी समातेको छ, जसले यो डोरीलाई चुँडिन दिनेछैन। तर, जब पति साथमा हुँदैनथे, उनको मगजमा अब अलबिदा भन्ने समय आएको हो ? भन्ने विचार सवार भइहाल्थ्यो।

अवस्था साह्रै बिग्रिन थालेपछि एक दिन पतिले उनलाई सम्झाउने प्रयास गरे। ‘हेर त, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तिमी भने बिस्तारामै लढिरहेकी छ्यौ,’ आफ्नी निराश र रोगी पत्नीका औंलाहरु सुम्सुम्याउँदै उनले सुस्तरी भने, ‘पन्छीहरु उडिसके। रुखहरु हुर्केर ठूला भइसके। तिम्रो पछाडिको वन झ्याङ्गिएर घना भइसक्यो। झरना झरिरहेकै छ। पहाडबाट कसैले बोलाइरहेको छ। अब उठ र हिँड्न थाल। सबैले थाहा पाऊन्, तिमीलाई बाँच्न मन छ। दुई पाइला मात्र सही, उठ र हिँड्न थाल। बाहिर निस्किएर आफू वरिपरिका कुरा हेर्न थालेपछि तिमीलाई रमाइलो लाग्नेछ। तिमी उठ, तिमी अवश्य जित्नेछौ।’

पतिको ढाडसले उनमा के प्रभाव पार्यो कुन्नि ? कमजोर भइसकेका हिम्मतका तारहरु जोडिन थाले। उनले उठ्ने प्रयत्न गरिन्। तर, थकान र कमजोरीले उठ्न सकिनन्। शरीरमा रगतको कमी थियो। कमी मात्रै के भन्नु रगतै थिएन। हरेक कुराको कमी थियो। उठेर हिँड्नका लागि कमीहरुको एउटा सिलसिलासँगै जुध्नुपर्छ। शरीरमा कति कुराको कमी थियो भने उनको शरीर कम र कमी ज्यादा थियो। उनका लागि अनेकन कमीहरुलाई जितेर उठ्न सहज भएन।



तर, बाहिरी दुनियाँलाई केही फरक पर्दैन, कोही दिनरात ओछ्यानमा सिकिस्त भएर पल्टिरहेको कुराले। दुनियाँ त आफ्नै गतिमा चलिरहन्छ। कसैले झ्यालढोका बन्द गरेर आफ्नो कोठालाई मात्र अँध्यारो बनाउन सक्छ, दुनियाँलाई नै होइन। सूर्य हरेक दिन उदाउन बिर्सिंदैन।

अमेरिकामा एकसेएक पहाडहरू छन्, कसैले ती पहाडलाई नहेर्दैमा पहाडको केही जाँदैन। उज्यालोलाई हेर्नु छ, पहाडको सुन्दरतालाई अनुभुति गर्नु छ भने उठेर हिँड्नुपर्छ। जीवन चौथो दशकमा चलिरहेको छ, तर न शारीरिक व्यायामको बानी छ न त व्यायामको चाहना नै। निमोनियाले व्यायाम गर्ने बानी नहुनुको मूल्य बेस्सरी उठाइरहेको थियो। 



उनलाई हिँड्न कति गाह्रो भइरहेको थियो र हिँडदा पाइलाहरु कति धर्मराउँथे भने अरुले देख्दा खिसी गर्छन् भनेर आफू हिँडिरहेको कसैले नदेखोस् भन्ने कामना गर्थिन् उनी। केही पाइला हिँड्दा नै थाक्थिन्। तर, उनले प्रयास गर्न भने छाडिनन्। अब उनलाई थाहा भइसकेको छ– बाँच्नु छ भने हिँड्नु पर्छ।

उनी बिस्तारै घरको आँगन र बाहिरसम्म पुग्ने भइन्। ५४ को उमेरमा उनका डाक्टर पति स्याम्युअल क्रुक्सको निधन हुन्छ। सुख–दुःखका सहयात्री बनेका श्रीमानको मृत्युपश्चात् उनी बेचैन हुनथालिन्, पतिको यादमा छट्पटिन थालिन्। एकै ठाउँमा बस्दा श्रीमानको यादले सताउने भएपछि उनी धेरैभन्दा धेरै हिँड्न थालिन्।

उनले सुरुमा ससाना पहाड छिचोल्न सुरु गरिन्। र, एक दिन यस्तो पनि आयो, ती महिलाले ६६ वर्षको हुँदा अमेरिकाको सबैभन्दा अग्लो पर्वत आरोहण गरिन्। क्यालिफोर्नियाको १४ हजार ५०० फिट माउन्ट व्हिट्नीसँग यस्तो परिचय बन्यो कि त्यसपछि मान्छेहरुले उनलाई ‘ग्यान्डमा व्हिट्नी’ भनेर बोलाउन थाले। 

केही हिँडेपछि उनलाई आभास भयो– हिँडनुभन्दा अझ आनन्द दौडिनुमा रहेछ। ‘ग्य्रान्डमा व्हिटनी’ ले ७० वर्षको उमेरमा दौडिन सुरु गरिन्। त्यसपछिका २० वर्षहरुमा हरेक वर्ष उनका पाइलाले माउन्ट व्हिट्नी चुमिरहे।

९१ को उमेरसम्म उनले त्यो पहाड २३ पल्ट चढिन्। उनी जापानको माउन्ट फुजी आरोहण गर्ने सबैभन्दा पाको उमेरकी महिला बनिन्। फुजी चढ्दा उनी ९१ वर्षकी भइसकेकी थिइन्।

आफ्नो शानदार पर्वतारोही जीवनमा उनले ९७ वटा पहाडहरू चढेर कीर्तिमान बनाइन्। पिठ्युमा २५ केजी सामान बोक्दै पहाड चढ्ने व्हिटनी १०१ वर्ष जीवित रहिन्। आफ्ना अन्तिम दिनहरूमा उनी भन्थिन्, ‘मैले केही सोचेर पहाड चढेकी होइन। मैले त खुला ठाउँ खोजे र ती ठाउँसँग आफ्नो आत्माको मिलन गराइदिए।’

उनले प्रमाणित गरिदिइन्, पहाड चढ्ने कुनै उमेर हुँदैन। शरीर त्यस्तै बनिदिन्छ, जस्तो हामी सोच्छौँ र बनाउन चाहन्छौं। आत्मविश्वास बुलन्द भएपछि असम्भव केही हुँदैन।

भनिन्छ, नियोनिया बिग्रिएका रोगीहरु १० वर्षभन्दा बढी बाँच्दैनन्। तर, हुल्डा क्रुक्सले ती सबै सत्यरुपी धारणाहरूलाई परिवर्तन गरिदिइन्। उनले दुनियाँलाई देखाइदिइन्, कुनै दिन पहाड भएको आफ्नो जिन्दगीलाई दृढ संकल्प र आत्मविश्वासले पहाडलाई नै जिन्दगी बनाइदिइन्। 

लाइभ हिन्दुस्तान डटकममा प्रकाशित कथाको भावानुवाद

  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १८:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया