घोराही १४ झिंगैराकी बजारु चौधरी तिहारको किनमेलका लागि बजार आइन् । उनी दाल तेल किनिसकेर नुन–चिनीका लागि सस्तो पसलमा गइन् । पसलले नुन मात्रै दियो चिनी दिएन । सस्तो पसलबाट नुन लिएर उनी चिनी लिन अन्य व्यापारी कहाँ पुगिन् ।
‘दुईचार रुप्पे भए पनि सस्तो पसलमा सहुलियत पाइन्थ्यो । यो वर्ष चिनी नै रहेछन्’, चौधरीले भनिन् ।
यो भोगाइ झिंगौराकी बजारु चौधरीको मात्रै होइन नुनचिनीको किनमेलका लागि सस्तो पसल पुग्ने जो कोही उपभोक्ताको पनि हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड शाखा दाङले कार्यालयको बरन्डामा रातो ब्यानरमा चिनी प्रतिकिलो ७० रुपैयाँ, नुन १८ रुपैयाँ तोकिएको सूचना टासेको छ । सूचनामा प्रतिव्यक्ति नुन, चिनी चार किलोसम्म मात्रै किन्न पाउने प्रावधान राखिए पनि उपभोक्ताले चिनी भने किन्न पाएका छैनन् ।
दसैंअघि असोज १८ गतेदेखि चलेको सस्तो पसलमा तिहार आयो, तर अझै चिनी आएको छैन ।
अघिल्ला वर्षमा सस्तो पसलमा नुन–चिनी प्रशस्तै हुन्थ्यो । बजारमा धमाधम चिनी भित्रिए पनि सस्तो पसलमा चिनी भित्रिन नसक्दा केही धेरथोर मंहगोमा भए पनि व्यापारीबाट चिनी लैजानुपर्ने बाध्यता उपभोक्ताको छ ।
दसैं–तिहारमा उपभोक्तालाई सहुलियत मूल्यमा नुन–चिनी पुर्याउने उद्देश्यले सरकारले सस्तो पसल सञ्चालनमा ल्याए पनि चाडबाड सकिन लाग्दा समेत चिनी भित्रिन नसक्दा उपभोक्ताहरू महँगोमै भए पनि चिनी उपभोग गर्न बाध्य छन् ।
कोरोनाले खायो चिनी !
‘दसैं–तिहारलाई लक्षित गर्दै सरकारले सस्तो पसल सञ्चालनमा ल्यायो । पसलमा कोभिडका कारण चिनी भित्रिन सकेको छैन । भर्खर नाकामा चिनी भित्रिएको छ रे, त्यो तिहार सकिए लगत्तै चिनी आउँछ कि भन्ने आशा छ ।’ साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड शाखा दाङका प्रमुख आनन्दकुमार न्यौपाने भने, ‘चिनीमा पनि कोरोना लाग्यो ।’ सरकारले सस्तो पसल सञ्चालन गरी समयमा चिनी भित्र्याउन नसक्दा उपभोक्ता तिहारमा पनि सस्तो चिनी उपभोग गर्नबाट वञ्चित हुनु परिरहेको उनको भनाइ छ ।
‘भर्खर चिनी सरकारले भित्र्याए पनि तिहारअघि उपभोक्तालाई पुर्याउन सकिँदैन । किनकि उताबाट यता आउन साता दिन लाग्छ’, उनले भने, ‘फलतः उपभोक्ताहरू कोरोना महामारीमा जोखिम मोल्दै पसल चहार्नु परिरहेको छ ।’ जसका कारण यस वर्ष चाडपर्वमा सरकारले दिने सहुलियतमा पनि कोभिड महामारीको प्रभाव परेको उनको भनाइ छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसनले चिनीको मूल्य ७० रुपैयाँ तोके पनि उपभोक्ताले बजारमा चिनी ९० रुपैयाँ प्रतिकिलोमा चिनी किन्नुपर्ने बाध्यता छ ।
कालो बजार र मूल्य वृद्धि गरे कारबाही गर्छौं
कोरोना महामारीले प्रशस्त चिनी भित्रिन नसक्दा व्यापारीले मूल्यमा मनोमानी गर्न सक्ने भएकाले स्थानीय प्रशासनले बजार निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनले भने, ‘कालो बजार र मूल्य वृद्धि गरेको भेटिएमा जिल्ला अनुगमन समिति र स्थानीय प्रशासनले कारबाही गर्नेछ ।’ महामारीले सबै क्षेत्र प्रभावित बनिरहेकाले चाडपर्वमा कसैले पनि मनोमानी गर्न नपाइने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।