देशभर कोरोना कहर, उपेन्द्रलाई पार्टी प्रवेश गराउने रहर

देश कोरोना कहरले थलिँदै गएको छ । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टी प्रवेश गराउँदै हिँडेका छन् । उनले मंगलबार जनकपुरमा सयौं युवालाई पार्टी प्रवेश गराएका छन् ।

जनकपुरको कलवार कुटीमा पार्टीद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेका छन् । कोरोनाको आशंकामा दुई सातादेखि होम आइसोलेसनमा बसेका मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू समेत कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा ठूलो संख्यामा उपस्थित कार्यकर्तामध्ये अधिकांशले मास्क लगाएका थिएनन् । सामाजिक दूरीको त धज्जी नै उडाइएको थियो । एक अर्कोसँग टाँसिएर पार्टी प्रवेश गराउँदा कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको छ ।

हुन त जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने कुनै कार्यक्रम गर्नमा प्रतिबन्ध लगाएको छ । तर, जसपाले निर्धक्क साथ पार्टी प्रवेश कार्यक्रम राख्दा प्रशासन मौन छ ।

आज मात्र होइन यसअघि पनि पटक–पटक जिल्लामा जसपाले ठूलो भिडभाड गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

सोमबार मात्रै रौतहटमा अध्यक्ष उपेन्द्र यादवले ठूलो भीडभाडबीच पार्टी प्रवेश कार्यक्रम गरेका थिए । सिरहा, सप्तरी, महोत्तरी, पर्सा लगायतका जिल्लामा पनि लकडाउनमै पार्टी प्रवेश कार्यक्रम गरिसकेको छ ।



प्रदेश २ मा अहिले जसपाको सरकार छ । मुख्यमन्त्री राउत र अन्य मन्त्रीहरूले कोरोना संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै पटक–पटक भिडभाड नगर्न आग्रह गरेका छन् । तर, सत्तारुढ जसपा स्वयं आफ्नै सरकारको निर्देशनलाई लत्याएर गैरजिम्मेवार बनेको छ ।

पार्टी प्रवेशको भीडभाडकै कारण पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम कोरोना संक्रमित भए । पार्टी नेतृ रेणु यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पनि कोरोना संक्रमणबाट अछुतो रहेनन् । तर, पनि जसपाका नेताहरू जिम्मेवार बन्न सकेका छैन ।



प्रदेशका मन्त्रीहरू परिवर्तन गर्ने चर्चा लामो समयदेखि चल्दैछ । राजपा र समाजवादी पार्टीबीच एकता भएदेखि नै पार्टीभित्र मन्त्री हेरफेर गर्न नेतृत्वलाई व्यापक दबाब छ । त्यस कारणले पनि कोही मन्त्री पद जोगाउन त कोही मन्त्री बन्न पार्टी प्रवेशको नौटंकी गरिरहेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १७:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया