सरकारको निर्देशनपछि सुरु भयो कोरोना बिमा दाबी भुक्तानी

बिमा कम्पनीहरुले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न थालेका छन् । सरकारले संक्रमितलाई भुक्तान गर्नुपर्ने बिमांक रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएपछि रकम भुक्तानी हुन थालेको छ ।

सरकारको निर्देशनपछि सरकारी वा निजी जुनसुकै प्रयोगशालाको रिपोर्टका आधारमा तोकिएको बिमा रकम उपलब्ध गराउन थालिएको बिमक संघका महासचिव चंकी क्षेत्रीले बताए । 

महासचिव क्षेत्रीका अनुसार अहिलेसम्म दुई हजार छ सय जनालाई बिमा रकम उपलब्ध गराइसकिएको छ भने तिहारअघि करिब दुई हजार चार सय बीमितको रकम भुक्तानी गरिनेछ । हालसम्म करिब १७ करोड रुपैयाँ भुक्तानी भइसकेको उनले बताए ।

बिमा कम्पनीहरूले बिमाको प्रिमियमबापत करिब १ अर्ब रुपैयाँ संकलन गरेको संघले जनाएको छ । कोरोना बिमा गरेकामध्ये करिब १५ हजार संक्रमितको बिमा दाबी भुक्तानीको निवेदन बिमा पुलमा पुगेको छ ।

 तीमध्ये करिब तीन हजारले उपलब्ध गराएको कागजपत्रको अध्ययन भइसकेको महासचिव क्षेत्रीले बताए । बिमा समितिले गत वैशाखदेखि नै निर्जीवन बिमा कम्पनीमार्फत बिमा गर्न थालेको हो । यस्तो बिमा व्यक्तिगत वा संस्थागत रूपमा गर्न सकिनेछ । 

समितिले एक लाख र ५० हजार बिमांक दरको बिमा योजना ल्याएको छ । एक लाखको बिमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ र एकाघरका परिवारको सम्पूर्ण सदस्यको बिमा गरेमा प्रतिव्यक्ति छ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै, कार्यालयले आफ्ना सम्पूर्ण कर्मचारीको सामूहिक बिमा गरेमा प्रतिव्यक्ति छ सय रुपियाँ शुल्क तिरेर बिमा गराउन सकिने व्यवस्था छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १४:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया