नेप्सेले पार गर्यो १७ सयको प्रतिरोध, कारोबार रकम ४ अर्बभन्दा माथि

सेयर बजार परिसूचक नेप्सेले ११७ सयको प्रतिरोध पार गरेको छ । बुधबार २८ दशमलव ८९ अंकले पसिूचक बढेसँगै नेप्से १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ ।  परिसूचक १ दशमलव ७२ प्रतिशत  बढेको बुधबार सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा पुगेको छ । २०७३ साल चैत २९ गते १७०९.८२ विन्दुमा रहेको सुचक सोपछि २०७७ साल कात्तिक २६ गते सोही विन्दुमा पुगेको  छ । 

नेप्से लगातार बढ्नुको प्रमुख कारण बैंकिङ प्रणालीमा रहेको अधिक तरलता रहेको बताउँछन्  सेयर विश्लेषक । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण सेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशत भन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ ।

सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएको र त्यसको प्रभाव बजारमा देखिएको विश्लेषकको भनाइ छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्थालगायत नेप्सेमा सूचीकृत कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा अधिकांश कम्पनीको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । 
त्यसैले बजारमा लगानी भित्रिँदा सेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ । आज (बुुधबार) पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका समूहमध्ये फाइनान्स समूह बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक ४ प्रतिशत बढीले बढेको छ ।  बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको सेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँ बढीको भएको छ । 

यस बाहेक १५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुने कम्पनीहरुमा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।



यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने ९ प्रतिशतभन्दा माथि सेयर मूल्य बढ्ने कम्पनीहरुमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीलगायत छन् । बजार बढे पनि आइसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य भने घटेको छ ।



  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १६:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया