अर्थतन्त्र डामाडोल, मन्त्रालय छाडेर ओलीको ‘म्यासेन्जर’ बन्दै अर्थमन्त्री

अर्थमन्त्रालयमा २०७७ असोज २९ गते छुट्टै चहलपहल थियो। कारण थियो, नयाँ अर्थमन्त्रीका रुपमा नियुक्त भएका विष्णु पौडेलको पदबहाली। पौडेल युवराज खतिवडाको बहिर्गमनको एक महिनापछि अर्थमन्त्रीको कुर्सीमा बस्दै थिए। पौडेलले अर्थमन्त्रीको पदबहाली गरेको पनि एक महिना पुग्न लागेको छ। 

कोरोना भाइरसका कारण धराशयी बनेको अर्थतन्त्र उकास्न उल्लेख्य काम गर्ने भन्दै अर्थमन्त्रालय प्रवेश गरेका पौडेल अहिले नेकपाको आन्तरिक विवाद मिलाउन लागिपरेका छन्। अर्थमन्त्रालयको कामकाज सम्हाल्नुपर्ने बेला पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म्यासेन्जर’ बनेर बालुवाटार र नेकपाका अन्य नेताका घरघरमा पुग्न थालेको टिप्पणी अर्थविद्हरूले गर्न थालेका छन्। यो अवस्थामा अर्थमन्त्री पौडेलले कसरी सफल अर्थमन्त्रीका रुपमा आफ्नो छवि बनाउन सक्लान त ? 

अर्थमन्त्रीको अपरिपक्व बोली

यतिबेला कमजोर व्यवस्थापनकै कारण नेपाली अर्थतन्त्रको ढुकुटी रित्तिने र जनताले पनि आवश्यक सुविधा नपाउने अवस्था बनेको छ। रित्तिँदो ढुकुटीलाई व्यवस्थापन गर्न आम्दानी शून्यप्रायः बनेपछि सरकारले विभिन्न किसिमको ऋण अनुदानलाई प्राथमिकता दिइरहेको यथार्थ छर्लङ्गै छ। 

अर्थमन्त्री पौडेलले पदबहाली गर्दा नै २० करोडको वैदेशिक ऋणपत्रमा हस्ताक्षर गरेका थिए। त्यो हस्ताक्षरसँगै लकडाउन अवधिमा सरकारले एक खर्बभन्दा बढी त वैदेशिक ऋण नै लिएको देखिन्छ। 

अर्थतन्त्र यति कमजोर हुँदा पनि अर्थमन्त्रीले ठोस कार्ययोजना भने ल्याउन सकेका छैनन्। तर, उनले कोभिडका कारण कमजोर अवस्थामा पुगेको अर्थतन्त्र ‘भी’ आकारमा बढ्ने दाबी भने गरिसकेका छन्। 



अर्थतन्त्रको अध्ययन नै नगरी दिइएको उनको सो अभिव्यक्ति अपरिपक्व भएको टिप्पणी अर्थविद्हरूले गरेका छन्। ‘लकडाउनमा लिइएको ऋणको मात्रै कुरा गर्ने हो भने हाम्रा कयौं पन्ना भरिन्छन्,’ अर्थविद् विश्वम्भर प्याकुरेल भन्छन्, ‘यो वर्षको अन्त्यसम्ममा अर्थतन्त्रमा नेगेटिभ ग्रोथ (जिरो ग्रोथ) हुने सम्भावना निकै बढेको छ।’

अहिलेको अवस्थालाई अध्ययन नै नगरी ‘भी सेप रिकभरी’ (अंग्रेजी भीको आकारमा अर्थतन्त्र तल झर्छ र एउटा बिन्दुले जोड्छ र विस्तारै माथि उठ्छ।) हुन्छ भन्नु अर्थमन्त्रीको अपरिपक्व अभिव्यक्ति रहेको उनको भनाइ छ। ‘नेपालले यो कल्पना नगरे हुन्छ,’ उनले थपे, ‘हामीले ‘एल सेप रिकभरी’ (अर्थतन्त्र तल झर्छ तर माथि उठ्ने समय अनिश्चित हुन्छ।) को बारेमा बरु बोल्न सक्छौं।’



यसरी अर्थतन्त्र जस्तो संवेदनशील विषयमा विना अध्ययन जथाभावी टिप्पणी गर्नुले नै उनको कार्यकालमा खास केही नहुने चर्चासमेत चल्न थालेको छ। यस्ता कुराले पौडेललाई अर्थमन्त्रालय थप चुनौतीपूर्ण देखिने अर्थ राजनीतिक वृत्तमा चर्चा छ। 

कर्मचारीको खस्कँदो मनोबल

नेपाली कर्मचारीतन्त्रमा चर्को राजनीति हुन थालेको टिप्पणी नयाँ होइन। जुन सरकार आयो त्यही सरकारको सिद्धान्त बोकेर काम गरिरहने नेपाली ‘सिस्टम’ ओली सरकारको पालामा पनि अछुतो रहेन। यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि अर्थ क्षेत्रका स्वायत्त संस्थालाई समेत आफ्नो ‘अण्डर’मा राखेको आरोप खेपेका थिए। पछिल्लो समय कमजोर बनेको अर्थतन्त्रमा सन्तुलन कायम गर्न पनि सिस्टम भन्दा डा. खतिवडाको ठाडो निर्देशनलाई सरकारले स्वीकार गरिरहेको थियो। 

गैर–राजनीतिक भनिएका खतिवडाले त प्रधानमन्त्री ओलीलाई रिझाउन सिस्टम मिचे भने ओलीको ‘खल्ती’बाट अर्थमन्त्री बनेका विवादित पौडेलले गफबाहेक के गर्लान् र भन्नेहरू पनि उत्तिकै छन्। अर्थविश्लेषक दीपेन्द्रबहादुर क्षत्री प्रश्न गर्दै भन्छन्, ‘सुरुमा आउँदा उत्साह ल्याएका खतिवडाले त सिस्टममाथि धावा बोले भने यिनले के गर्लान् ? प्रधानमन्त्रीको निर्देशनअनुसार साइन गर्ने काम मात्रै हो।’ यो चुनौतीका बीच पौडेलले आगामी कार्यकाल कसरी सम्हाल्छन्। त्यो भने हेर्न बाँकी नै छ। 

ऊर्जाहीन अर्थतन्त्र

पछिल्ला केही वर्षमा नेपाली अर्थतन्त्रले सकारात्मक बाटो समातेको थियो। लामो समय कमजोर अवस्थामा रहेको अर्थतन्त्रमा पछिल्ला वर्षमा ७ प्रतिशत हाराहारीको आर्थिक बृद्धि भएको थियो। तर, कोरोना भाइरसको महामारीका कारण चालू आर्थिक वर्षमा शून्यमै झर्ने आँकलन गरिएको छ। 

निकै कमजोर अवस्थामा अर्थतन्त्र उकास्न अपनाउनुपर्ने उपायबारे ओली सरकार नै संयमित नबनेको विश्लेषकहरूको टिप्पणी छ। यस्तो अवस्थामा अर्थमन्त्री बनेका पौडेलले पनि अर्थतन्त्रबारे खास अध्ययन गरेका छैनन्। त्यसैले निकै कमजोर अवस्थामा पुगेको अर्थतन्त्र उकास्न पौडेलको बसमा नरहेको टिप्पणी गर्न थालिएको छ। ‘संसारका कस्ता बलिया देशहरूमा पनि यो अवस्थामा पुगेको अर्थतन्त्र उकास्न विशेष सावधानी अपनाउने गरिन्छ,’ अर्थविद् रामेश्वर खनाल भन्छन्, ‘राजनीतिक खिचातानीमा व्यस्त व्यक्तिले यो बेला के गर्लान् र ?’ 

अपारदर्शी आर्थिक व्यवस्था

नेपाली अर्थतन्त्रको खास अवस्थाबारे पारदर्शी हिसाबको विवरण आउँदैन। महालेखा परीक्षकको कार्यालयले वार्षिक हिसाब किताब त निकाल्छ। तर, त्यो नै पूर्ण नभएको सरोकारवाला नै बताउँछन्। त्योबाहेक अर्थमन्त्रालयले निकाल्ने बेलाबेलाका तथ्यांकले पनि अर्थतन्त्रको खास अवस्थाबारे जानकारी दिन सक्दैनन्। 
यसअघि ओली सरकारको सुरुवातमै डा. खतिवडाले ल्याएको पहिलो आर्थिक श्वेतपत्रले पनि ढुकुटी रित्तिएको अवस्थामा रहेको बताएको थियो। अर्थतन्त्रको ‘सपाट’ भनिने श्वेतपत्र पनि झुठो भएको टिप्पणी त्यतिबेला आएका थिए। 

अर्थतन्त्रभित्रका समस्या र समाधानबारे खास अध्ययन नै नगरिने र गलत रिर्पोटिङ हुने पुरानै रोगबीच अर्थतन्त्रबारे खास जानकारी नभएका पौडेलले कसरी काम गर्लान् त भन्नेहरू पनि उत्तिकै छन्। ‘हाम्रा आर्थिक अध्ययन विश्लेषण प्रतिवेदन नै पूर्ण हुँदैनन्,’ अर्थमन्त्रालयका एक उच्च अधिकारी नै भन्छन्, ‘त्यस्ता रिर्पोट निकाल्दा विभिन्न खाले इन्टेष्टले काम गरिरहेका हुन्छन्। अर्थमन्त्रीलाई पूर्ण रिर्पोटिङ त कहिल्यै हुँदैन।’ यो अवस्थामा अर्थमन्त्रीलाई चुनौती थप हुनेछ। 

समन्वय अभाव

अहिले अर्थतन्त्र निकै कमजोर दिशामा गइरहँदा तत्काल केही गर्नुपर्ने आवश्यकता देखिइसकेको छ। यो अवस्थामा निजीक्षेत्र, विज्ञ तथा विश्लेषकहरूलाई साथमा लिएर काम गर्नुपर्ने हुन्छ। यद्यपि, निवर्तमान अर्थमन्त्री खतिवडाले सम्बन्धित निकाय र निजीक्षेत्रसँग राम्रो सम्बन्ध बनाउन सकेनन्। खतिवडाले ओलीको निर्देशन माने पनि राजनीतिक रुपमा अन्य दलका नेता, कार्यकर्ता, कर्मचारी, निजी क्षेत्र, पत्रकार लगायत कसैसँग पनि राम्रो सम्बन्ध बनाउन सकेनन्। यिनै समन्वय अभावमा अर्थतन्त्रमा बढी छिद्रहरू देखा परेको बताउँछन् अर्थविद्हरु। यसलाई सुधार गर्न पनि अर्थमन्त्री पौडेललाई ठूलो चुनौती छ। अर्थात् खतिवडाको पालामा बिग्रिएका सम्बन्ध सुधार गर्नैपर्ने वाध्यतासमेत रहेको छ पौडेलसँग।

यी चुनौतीका बीच अर्थमन्त्री बहाली भएका पौडेलले केही सकारात्मक काम भने अगाडि बढाएका छन्। निजीक्षेत्र र समन्वयकारी निकायसँग कडा रुपमा प्रस्तुत भएका डा. खतिवडाका केही विवादित निर्णय उल्ट्याउँदै पौडेलले निजीक्षेत्रसँग नजिक हुने चेष्टा गरिरहेका छन्। खतिवडाले निजीक्षेत्र चिढिने सबैभन्दा आलोचित निर्णय गरेका थिए, विद्युतीय सवारीमा चर्को कर बृद्धि। 

यसैगरी नेपाली बजारमा माग भइरहेको विदेशी मदिरामा प्रतिबन्धले पनि निजीक्षेत्र उनीप्रति नकारात्मक थियो। खतिवडाले गरेका विवादित निर्णय उल्ट्याएर निजीक्षेत्रको मागलाई सम्बोधन गरेका पौडेलको आगमनले सहज हुने अपेक्षा निजीक्षेत्रको छ। 

पौडेलले निजीक्षेत्रसँग आवश्यक छलफल तथा समन्वय पनि अघि बढाएका छन्। पौडेलप्रति निजीक्षेत्र सकारात्मक भए अर्थतन्त्र उकास्न केही सहज हुनेछ। यसैगरी, पौडेलले पार्टी निकट विज्ञ तथा अन्य समन्वयकारी निकायसँग पनि सकारात्मक सम्बन्ध अघि बढाएका छन्। यसले पनि उनलाई काम गर्न सहज हुनेछ। 
अर्थतन्त्र उकास्नका लागि पार्टीको आन्तरिक विवादका पछि नलाग्न भने अर्थमन्त्री पौडेललाई विज्ञहरुले सुझाव छ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १७:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया