कुनै समय थियो । सबैको आँगनमा मखमली, सयपत्री लगायतका फूल ढकमक्क फुलेका हुन्थे । ती फूलको प्रयोग तिहार लगायत हिन्दुहरूका विभिन्न चाडपर्वमा प्रयोग गरिन्थे । कृत्रिम माला भनेको के हो सुदूरपश्चिमवासीलाई थाह थिएन । तर, पछिल्लो समयमा सुदूरपश्चिममा कृत्रिम माला प्रयोग गर्नेहरूको माग बढेको छ ।
कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक वर्ष कृत्रिम मालाको आयातमा वृद्धि हुँदै गएको छ । कैलाली भन्सार कार्यालयका अनुसार ०७७÷०७८ को साउनदेखि कात्तिक सम्मको अवधिमा भारतबाट धनगढीमा १ हजार ५७५ किलोग्राम कृत्रिम माला भित्रिएको छ ।
यी मालाको मूल्य ६ लाख ६२ हजार १८३ रुपैयाँ हो । कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले कृत्रिम फूलमाला आयातबाट तीन लाख ५३ हजार ५३ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । भारतको दिल्ली, लखनऊ, बरेलीलगायतका सहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात हुने गरेको छ ।
अधिकृत डिल्लुप्रसाद शर्माले भने, ‘धनगढीमा हरेक वर्ष असोज र कात्तिक महिनामा सबैभन्दा बढी कृत्रिम फूलमाला आयात हुने गरेको छ ।’ गत वर्ष यस अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट १०७ किलोग्राम अर्थात् ६४ हजार ४२० रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको थियो ।
जसबाट ३१ हजार ६७९ रुपैयाँ राजस्व संकलन भएको थियो ।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा भारतबाट आयात भएको कृत्रिम फूलमालाभन्दा चालु वर्षको तीन महिनाको अवधिमा १४ गुणा बढी आयात भइसकेको छ । कृत्रिम फूलमाला बाहेक त्रिनगर भन्सार कार्यालय कैलाली नाका भएर दीयो, मैनबत्ती, अगरबत्तीलगायतका सामानहरू आयात हुने गरेका छन् ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनबत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । केही व्यक्तिहरूले व्यावसायिक रूपमा फूल खेती गरेको भए पनि त्यसले सबै माग धान्न सकेको छैन ।
सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशत फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्यून छ ।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न र प्लास्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत शर्माले बताए । उनले खरिद मूल्यमा २० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरेको बताए ।
समग्रमा कृत्रिम फूलमालाको खरिद मूल्यको ३४ दशमलव ४७ प्रतिशत राजस्व सरकारले लिने गरेको छ ।
कृत्रिम माला मात्र नभएर कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २७ हजार युनिट माटाका वस्तुहरू आयात भएका छन् । ४६ हजार ४८३ मूल्य बराबरका माटाका वस्तुहरू आयात भएको जनाइएको छ । यी वस्तुबाट १७ हजार ८५२ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । कार्यालयका अनुसार आव ०७६/७७ मा ७२ हजार ३८२ युनिट माटाका वस्तु आयात भएको थियो ।
गत वर्षको तीन महिनामा २ लाख ७८ हजार ५८२ रुपैयाँ बराबरको माटाका वस्तु आयात भएका थिए । यी वस्तुबाट कार्यालयले १ लाख ६ हजार ९७० रुपैयाँ संकलन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।