पद पाउनैका लागि मात्रै राजीनामा गरेको  होइन : रेग्मी

बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पारेका छन् ।

संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार सांसदहरुको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् । सनुवाइका क्रममा सांसदहरुले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए । 

प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए । तर, पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले स्पष्ट पारे । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रुपमा लिनुपर्ने बताए ।

सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनै पनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानबिन भएमा आफू सघाउन तयार रहेको बताए । 

सनुवाइमा सांसदहरुले मुख्य सचिवमा पदबहाली रहेका बेला राजीनामा दिएर राजदूतको सिफारिस लिन जाँदा कर्मचारी तन्त्रको रुपरेखा बिग्रिएको भन्दै आपत्ति जनाएका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद बीचैमा छाडेर हिँड्दा कर्मचारी तन्त्रकै रुपरेखा बदलिएको बताए । सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तिमा जानुपर्ने प्रवृत्ति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए । 



नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ति लिँदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन् ।

मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफारिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदहरुले बताएका हुन् ।



  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १८:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया