कोरोना महामारी कारण लामो समयपछि फुटबलको राष्ट्रिय टोली आज मैदानमा उत्रिदै छ । नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली समय अनुसार आज बेलुकी पौने पाँच बजे हुनेछ।
एक वर्षभन्दा लामो समयपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।
नेपालले गत वर्षको नोभेम्बर यता अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन। नेपालले अन्तिमपटक विश्वकप छनोटअन्तर्गत कुवेतसँग खेलेको थियो । जसमा १–० गोलले पराजित भएको थियो।
त्यसयता कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी भएको थिएन ।
कोरोना भाइरसको महामारीबीच खेलकुदमा फर्कन बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको थियो। नेपाल र बंगलादेशबीच दोस्रो र अन्तिम मैत्रीपूर्ण खेल मंसिर २ गते हुने छ।
कोरोनाका कारण विश्वका धेरै देशमा खेलकुदका गतिविधि ठप्प छन्। सञ्चालन भइरहेका देशहरुमा पनि दर्शकलाई प्रवेश गर्न दिइएको छैन्।
कोरोना महामारीका बीचमा पनि यस खेलमा निश्चित संख्यामा दर्शकलाई प्रवेश गराइने भएको छ। बंगलादेशफुटबल फेरेडेसन (बिएफएफ(ले दर्शकको संख्या नखुलाए पनि खेलका लागि टिकटको दर भने ताकेको छ।
बिएफएफको हिजो बसेको बैठकले भिआइपी प्याराफिटको टिकट मूल्य ५०० टाका र साधारण प्याराफिटको टिकट मूल्य १०० टाका तोकेको छ।
मैत्रीपूर्ण खेलमा रंगशाला आउने दर्शकले फिफा तथा एएफसीको स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने संघले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।