कार्यसूची तय गर्दै नेकपाको सचिवालय बैठक सकियो, मंसिर ३ गते पुनः बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको ४० मिनेटमै सकिएको छ । बालुवाटारमा शुक्रबार बसेको बैठकले ७० औं सचिवालय बैठकको कार्यसूची तय गरेको छ । आगामी मंसिर ३ गते १ बजे बस्ने सचिवालयको बैठकमा ती कार्यसूचीमाथि छलफल हुनेछ । 

आजको बैठकले नेकपामा पछिल्लो समय देखिएको संकट र त्यसको समाधान कसरी गर्ने भन्ने विषयलाई मुख्य कार्यसूची बनाइएको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘लामो समयदेखि पार्टीको बैठक बस्न नसकिरहेको अवस्थामा कार्यकारी अध्यक्षसहित हामी ५ जना सचिवालयका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र र त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले कमरेड प्रचण्डलाई लेख्नुभएको पत्र । उक्त पत्रको जवाफमा अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई अध्यक्ष कमरेड प्रचण्डले लेखनुभएको पत्र’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको संकट र त्यसको निवारणका सन्दर्भमा सचिवालयमा छलफलका लागि अध्यक्ष कमरेड प्रचण्डले तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटीको बैठकपछि जारी गरिएको अन्तर पार्टी निर्देशिका (अपानी) ५ आज सबै सचिवालयका सदस्यहरुलई अध्ययनका लागि वितरण गरिएको छ ।’

ती सबै सामग्रीहरूको अध्ययन गरिसकेपछि आगामी बैठकमा गम्भीर रुपमा छलफल गरी पार्टी एकताको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ बनाउने निष्कर्ष निकालिएको समेत नेता श्रेष्ठले बताए । उनले पार्टी र सरकार सामु रहेका जिम्मेवारी र कार्यभार पूरा गरेर जाने निष्कर्ष निकाल्न उपयुक्त हुने समेत बताए । 

सचिवालयमा यसबाहेक कर्णाली प्रदेशमा देखिएको समस्या, पर्सामा भएको घटना, कोभिड–१९ संक्रमण, त्यसको रोकथाम, नियन्त्रण र त्यसले पैदा गरेको आर्थिक संकट, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखको नेपाल भ्रमण लगायतका विषयलाई समेत बैठकको कार्यसूची बनाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १७:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया