जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २० घर भई वडा नम्वर ७ स्थित माइतमा बस्दै आएकी २१ वर्षीया आरती साहमाथि श्रीमानले नै एसिड प्रहार गरेको खुलेको छ।
घटनाको तीन घण्टा नबित्दै श्रीमतीमाथि एसिड प्रहार गर्ने २४ वर्षीय संजीव साहलाई प्रहरीले पक्राउ गरिसकेको छ। बिहान साढे ८ बजे एसिड प्रहार गरी भागेका साह बिहान सवा ११ बजे पक्राउ परेका हुन्।
उनी जनकपुरधाम ४ मा डेरा गरी बस्दै आएका थिए। जनकपुरकै संकटमोचन मावि नजिकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
हात, अनुहार, पेट, छातीलगायत शरीरका मुख्य भागमै एसिड प्रहार गरिएका कारण आरतीको अवस्था गम्भीर छ। प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार साहले श्रीमतीमाथि एसिड प्रहार गर्दा ३ वर्षीया छोरी रिया साहलाई पनि परेको छ।
आमा र छोरी दुवैको उपचार अहिले जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भइरहेको छ। आमाको अवस्था गम्भीर छ भने छोरीको अवस्था सामान्य रहेको चिकित्कसले जनाएको छ। एसिडले आरतीको शरीरको २० प्रतिशत भाग जलेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरी निरीक्षक सिग्देलले जानकारी दिएका छन्।
स्रोतका अनुसार आरती र संजीवबीच साढे तीन वर्ष अगाडि सामाजिक रितिरिवाज अनुसार विवाह भएको थियो। तर पारिवारिक विवादका कारण आरती लामो समयदेखि माइतमै बस्दै आएकी थिइन्। उनीहरुबीच सम्बन्ध के कारणले बिग्रेको कुरा खुल्न सकेका छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।