प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा नेकपाभित्र प्रधानमन्त्री ओली इतरको मत राख्ने तथा ओलीको आलोचना गर्नेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गर्छन् । शुक्रबारको बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीमाथि विभिन्न आरोप लगाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रस्ताव पेस गरेका थिए।
यस विषयलाई लिएर सल्लाहकार थापा प्रचण्डमाथि खनिएका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति दिँदै थापाले प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म कुनै संवाद वा बैठक नहुने बताएका छन्।
प्रचण्डले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले प्रस्ताव बाँडेको उनको आरोप छ । ‘अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नाङ्गो भ्रष्ट्रिकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।’ थापाले भनेका छन्।
यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि नसक्ने भएकाले अविलम्ब फिर्ता लिनु पर्ने उनको भनाइ छ । नेकपाका सहप्रवक्तासमेत रहेका सूर्य थापा पार्टीका केन्द्रीय सदस्य हुन् । प्रचण्डले उक्त प्रस्ताव सचिवालयको बैठकमा छलफलका लागि बाँडेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।