फूलहरुसँगै फूलिरहेकी रुपा

प्लान्ट रिडिङ । 

रुपा बस्नेतको खास काम नै यही हो । बस्नेतले गर्ने काम हो– बिरुवाको प्रजाति चिन्ने र त्यसलाई अर्को प्रजातिसँग क्रसिङ गराउने । 

सन् २०१८ मा कृषिमा स्नातक सकेपछि रुपाले यही काम सुरु गरिन् । 

तर, लामो समय उनी प्लान्ट रिडिङ गर्ने जागिरमा बस्न चाहिनन् । 

राम्रो तलब र ‘सजिलो’ काम छोड्ने निर्णय गरेपछि रुपाले यस्तो काम गर्न चाहिन् जसमा उनको कुनै विशेष दक्षता थिएन । उनको मनमा चाहिँ थियो, छटपटी र आफ्नै काम गर्नुपर्छ भन्ने दृढता ।

भक्तपुरको गुन्डुमा जन्मिए पनि रुपाले २३ वर्षसम्म कुटो कोदालो खासै गरेकी थिइनन् । तर, उनले रोजेको काम नै थियो, खेत वा बारीमा कुटोकोदालो गर्ने । त्यसैले सुरुमा त उनका बाबुले उनलाई आफ्नो काम नगर्न अनुरोध गरिरहे ।



‘बुबा मलाई अधिकृत होस् भन्ने चाहनुहुन्थ्यो,’ केही दिनअघि रुपाले फरकधारसँग भनिन्, ‘तर, मैले हिम्मत गरेरै उहाँलाई म आफ्नै काम गर्छु भनेँ ।’

रुपाका बुबाले उनको योजना सुने । अनि एक वाक्यमा जवाफ दिए– तिमीलाई राम्रोसँग कुटोकोदालो समाउन पनि आउँदैन, त्यसैले यो छोड, राम्रोसँग पढ र अधिकृतमा नाम निकाल ।



बुबाले भनेको कुरा सही लागेको पनि थियो रुपालाई । अनि फेरि उनलाई आफ्नो मनको कुरा पनि नसुनी हुँदैन भन्ने लागिरहेको थियो । त्यसैले बाबुको अनुरोधलाई बेवास्ता गर्दै रुपाले आफूलाई आफ्नो योजनामा थप दृढ बनाइन् ।

आफ्नै घरखेतमा पनि कृषि कर्म गर्न सकिने लागेको थियो, रुपालाई । उनले यसको सम्भाव्यता अध्ययन गरिन्, त्यहाँको मौसम र हावापानी, माटो र बिउबिजनबारे अध्ययन गरिन् । अनि एउटा डिटेल प्रोजेक्ट प्लान बनाइन् । 

जसै त्यो योजना पूर्णरुपमा उनले पूरा गरिन्, बाबुलाई फेरि पहिलेकै कुरा सुनाइन् । यसपटक उनीसँग डिटेल योजना पनि थियो । 

अनि रुपाका लागि थपिएको बल पनि । बल अर्थात्, दिदीको साथ । रुपाकी दिदी रन्जनाले पनि साथ दिएपछि रुपाका बाबु पनि छोरीको योजनामा मिसिन बाध्य भए । उनले छोरीलाई सहयोग गर्ने भए ।

बाबुको सहयोगबाट कृषि कर्मका लागि रुपाले सुरुमै पाइन्, ३ लाख । 

३ लाखले रुपाको पूरै योजनालाई सहयोग त गर्न सक्दैनथ्यो तर उनले यसलाई आफ्नो इनिसियल क्यापिटल बनाइन् र यहीअनुसार काम गर्न थालिन् । घर छेवैमा चार रोपनी जग्गा लिजमा लिइन्, वार्षिक ६० हजार तिर्ने गरि ।

अनि त्यहाँ टनेल बनाइन् र लगाइन् गोलभेँडा, काँक्रा र अरु तरकारी । 

तीन वर्षअघि तीन लाख लिएर खेतवारीमा ओर्लिएकी रुपालाई अब थप लगानी गर्नु पर्छ भन्ने भयो । उनी बैंकसम्म पुगिन् । ‘तिमी सानै छौ,’ बैंकका कर्मचारीलाई उनलाई जवाफ दिए, ‘तिमीले अहिले केही गर्न सक्दिनौ ।’

एकातिर बैंकका कर्मचारीले रुपालाई भनेका थिए– केही गर्न सक्दिनौ । अकोतिर रुपाले सुरुमा गरेको लगानीको प्रतिफल राम्रैसँग हात पारिसकेकी थिइन् । त्यही जोश र जाँगरका कारण उनले बैंकमा कर्मचारीलाई भनिन्– एकपटक आउनुहोस्, मेरो प्रोजेक्ट हेर्नुस् ।

कापी कलम समाउने उमेरमै कुटोकोदालो समातेर रुपाले जे हासिल गरेकी थिइन्, त्यसले बैंकका अधिकारीहरुलाई प्रभावित नगर्ने कुरै भएन । 

‘अनि त मैले ऋण पाउने भएँ,’ रुपा हाँसिन्, ‘बैंकले मलाई ऋण दियो, त्यसले मलाई मेरो व्यवसाय थप विस्तार गर्न सहयोग गर्यो ।’ 

व्यवसाय विस्तार गर्दैगर्दा रुपाले अरु समस्या नभोगेकी होइनन्, त्यसलाई थप अगाडि बढाउन बाधा र व्यवधान नखेपेकी होइनन् । तर, उनले हिम्मत हारिनन् ।

‘गिभ अप गर्ने सुविधा मलाई थिएन,’ रुपाले भनिन्, ‘त्यसैले मिसनमा म लागिरहेँ, मिसनमा कटिवद्ध भइरहेँ ।’

१ वर्ष बितेपछि रुपाको मनमा थोरै उत्साह पलायो । १५ औं महिनामा त उनले लगानी नै उठाइनन् । ‘त्यसपछि अलिक सहज हुँदै गयो,’ रुपाले भनिन्, ‘आफूलाई आफ्नो मिसनमा सफल भएको जस्तो पनि लाग्न थाल्यो ।’ 

त्यसमाथि दिदी रन्जनाको उनलाई पूरापूर साथ थियो । ‘हामी दिदीबहिनी मात्रै होइनौँ,’ रुपा भन्छिन्, ‘काम र नाफा बराबर गर्ने हामी बिजनेस पार्टनर नै हौँ ।’

राम्रो हुँदै गएको कामलाई अहिले रुपा र उनकी दिदी मिलेर थोरै मोडेका छन् । 

पहिले तरकारीमा लगानी गरेर अगाडि बढेका उनीहरुले अब फूल उत्पादन गर्न थालेका छन्, पुष्प व्यवसायमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘पुष्प व्यवसायमा पनि मन थियो, तरकारीसँगै एउटा टनेलमा फूल रोपेर परीक्षण गरेकी थिएँ,’ रुपाले भनिन्, ‘विस्तारै फूल खेती नै राम्रो हुन्छ भन्ने निष्कर्ष निस्कियो । अनि म यसैमा लागेँ ।’

यसका लागि तीन कुराले रुपालाई गाइड गरेका छन् ।

पहिलो हो, फूलप्रति रुपाको मोह ।

दोस्रो हो, तरकारीभन्दा पुष्प व्यवसायबाट आम्दानी अझ राम्रो हुनु ।

र, तेस्रो हो, तरकारी खेतीभन्दा कम लागत र जनशक्ति फूल व्यवासयमा लाग्नु । 

तर, यसको अर्थ होइन, फूल रोप्नु, गोड्नु र फुलाउनुमा कुनै अप्ठ्यारा छैनन्, कुनै समस्या छैनन् । तर, रुपा यसमा लगातार अगाडि बढिरहेकी छिन् । नेदरल्यान्ड्सबाट फूलका बिऊ ल्याएर उनी यहाँ त्यसको उत्पादन गरिरहेकी छिन् । 

अहिले रुपाको फार्ममा छन्, तीन किसिमका फूलहरु– सुपारी, सयपत्री र गोदावरी ।

‘मैले अहिलेसम्म १० प्रजातिका सयपत्री नेपाली हावापानी अनुकुल छन्–छैनन् भनेर परीक्षण गरेँ,’ रुपाले भनिन्, ‘नेपाली हावापानी तीन प्रजातिका लागि ठिक रहेछ, अरु खासै राम्रो नहुने रहेछ ।’

त्यस्तै, नेपालमा १३ प्रजातिका गोदावरी राम्रो हुनसक्ने रुपाको अध्ययनको ठहर छ । 

हुँदाखाँदाको राम्रो जागिर छोडेर पुष्प व्यवसायमा होमिएकी रुपाका लागि अब पछुतो मान्नु पर्ने कुनै कारण छैन । तीन वर्ष यता आफ्नै व्यसायमा होमिएकी रुपा किन पनि खुसी छिन् भने यही व्यवसायले उनलाई र उनकी दिदीलाई अत्यन्त राम्रो पकेट खर्च जुटाएको छ । दिदीबहिनीलाई मासिक औसत एक–एक लाख बच्न थालेपछि त उनका बाबु पनि खुसी भएका छन् । 

आम्दानीको यो खुसीलाई कायम राखिरहन रुपालाई सहज भने छैन । यो सफलता र खुसीलाई कायम राख्न अहिले पनि उनी दिनभर फार्ममा नै खटिन्छिन् अनि निकै सचेत भएर फूलबारीमा काम गर्छिन् । 

‘बिहानको झिसमिसेसँगै साँझ अबेरसम्म हामी दिदीबहिनी फूलबारीमा नै हुन्छौँ,’ रुपाले भनिन्, ‘फूल व्यवसायमा जति मिहनेत आवश्यक छ, त्यति नै चनाखो पनि हुनु पर्दो रहेछ ।’

बारीमा फूल फूलेपछि मख्ख परेर मात्र बसेर नहुने तर त्यसका लागि उचित समयमा व्यवस्थापन गर्ने चुनौति रहेको मान्छिन्, रुपा । ‘ठिक समयमा फूलेको फूल टिपिएन भने त्यसले अर्को फूललाई पनि असर गर्छ,’ रुपाले भनिन्, ‘त्यही भएर पनि निकै चनाखो भएर काम गर्नुपर्छ ।’

अरु खेतीपातीमा जस्तै मौसमको ध्यान, किराफट्याङ्ग्राले गर्न सक्ने असर र त्यसबाट कसरी फूललाई जोगाउने भन्नेबारे पूर्ण ध्यान दिनु पर्ने रुपाको अनुभवले बताएको छ ।

अनि अब रुपा आफ्नो कामलाई थप विस्तार गर्न खोजिरहेकी छिन् । गुलाब, हिबिस्कस् आदीका विभिन्न प्रजाती उपर परीक्षणको काम गरिरहेकी छन् । 

व्यवसाय विस्तार गर्ने योजना बनाइसकेकाले रुपालाई अब फेरि पुँजी जुटाउनु परेको छ ।

रंगीचंगी फूलहरुसँगको सामिप्यतामा भविष्य थप सुन्दर देखेकी रुपालाई चिन्तित र निराशा त केहीले बनाउँछ भने त्यो हो, उद्यम गर्न चाहने युवाहरुलाई सरकारले नगर्ने सहयोग ।

‘अरु देशको बजार हेर्ने हो भने सरकारले उद्यमीहरुलाई निकै ठूलो सहयोग गरेको हुन्छ, तर यहाँ त युवाहरुलाई सरकारले सहयोग गर्ने त परको कुरा,’ रुपाले आफ्नो अनुभवलाई पनि समेटेर सुनाइन्, ‘बिचौलियाहरुले मनपरी गरिरहेका छन् तर सरकारलाई यस्ता कुराहरुको कुनै मतलब नै छैन ।’

हो, व्यवसायमा यस्ता समस्या छन्, यस्ता अप्ठ्यारा र चुनौति छन् । तर, रुपालाई यी सबले रोक्न अब सक्दैनन् । किनकि उनी अब फूलहरुसँग रमाउन थालिसकेकी छिन् ।

‘सानैदेखि ममा फूलहरुप्रति लगाव थियो,’ रुपाले भनिन्, ‘त्यसैले अहिले दिनभर काम गरेर बेलुका थकित शरीर लिएर घर पुग्दा पनि फूलहरुबीच आफूलाई पाउँछु, आनन्दित नै हुन्छु ।’

हुन पनि दशैं तिहारको समयमा रुपाको व्यस्तता निकै बढ्छ । ‘अरु समयको भन्दा यो समयमा खटन ठ्याक्कै दोब्बर हुन्छ,’ रुपाले भनिन्, ‘तर, काम राम्रो हुँदा र आफू सफलता तर्फ लम्किँदा खटनका कारण थकान होइन, आनन्द पो हुँदो रहेछ ।’

यसको अर्थ के होइन भने व्यवसायमा लाग्दा असफल पनि हुन सकिन्छ है भन्ने सोच रुपामा नभएको होइन । ‘तर, आफूले अध्ययन गरेको विषयमा थप खटिएर काम गर्दा धेरै राम्रो हुँदो रहेछ,’ रुपाले भनिन्, ‘अनि केही गर्नु छ भने सबैभन्दा पहिले आफूलाई विश्वास गर्नुपर्छ । आफूमाथिको विश्वासको भावसँगै सकारात्मक सोच पनि उत्तिकै आवश्यक छ ।’

अनि सानै काम भए पनि थोरै रिसर्च गरेर अगाडि बढ्ने हो सफलताको शिखरमा पुग्न सहज हुने उनको तर्क छ ।

त्यही रिसर्च, स्वअध्ययन र कडा परिश्रमले त एउटा फूलबारीमा फुलिरहेकी छिन्, रुपा । अनि दिदी रन्जना र आफूलाई स्वावलम्बी बनाउँदै अगाडि बढेकी छिन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १७:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया