गायक रविराज प्रहरी हिरासतमा, बलात्कार र हत्या प्रयासको आरोप
फरकधार / ३० कात्तिक, २०७७

जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले गायक रविराज साहलाई पक्राउ गरेको छ । सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका उनलाई भत्तपुर प्रहरीले कात्तिक २७ मा नियन्त्रणमा लिएको थियो । अहिले उनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।

घटना काठमाडौंमा भएको भन्दै भत्तपुर प्रहरीले अनुसन्धानका लागि गायक साहलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको बुझिएको छ । एक युवतीले उनीमाथि जर्वजस्ती करणी उधोग अन्तर्गत मुद्दा हालेको र अहिले सो विषयमा अनुसन्धान भइरहेको प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष्य बस्नेतले जानकारी दिए।

रविराजलाई कलाकार भरत साहले बुढानिलकण्ढमा भेट्न बोलाएर पक्राउ गर्न लगाएको गायक साहका भाइ रमेशले बताए । ‘घटना के भएको हो भनेर छलफल गर्न आउनुस् भनेर कलाकार साहले आफ्नै घरमा बोलाउनुभयो’, रमेशले फरकधारसँग भने, ‘मेरो दाई (रविराज) उहाँको घर पुग्दा प्रहरी पनि थियो । अनी घरमा छलफल नगरी भत्तपुर प्रहरी कार्यालय लग्यो ।’

उनका अनुसार अहिले प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको छ । उनले दाइमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको दावी गरे । उनले भने, ‘आरोप लगाएकी युवतीले नै फेसबुक लाइभमा फरक फरक बयान दिएकी छन् । बयानले नै आरोप झुठो हो भन्ने स्पष्ट हुन्छ ।’

फेसबुकबाट घटना सार्वजनिक

गायक साहमाथि आफूलाई मोडल बताउँदै आएकी किरन बानियाँले जवरजस्ती करणी र हत्याको प्रयास गरेको आरोप लगाएकी छन् । उनले फेसबुक लाइभमै आएर आफूलाई गायक साहले काठमाडौं बोलाएर जर्वजस्ती करणीको प्रयास गरेको बताएकी छिन् ।

पहिलो पटक उनले घटनाबारे कलाकार भरत साहसँग फेसबुकमा लाइभ कुराकानी गरिन् । त्यसपछि आफ्नो फेसबुकमा लाइभ आएर घटना सार्वजनिक गरिन् । कलाकार साहसँगको कुराकानीमा उनले नशालु पदार्थ खुवाएर गायक साहले कुटपिट गरेको र जर्वजस्ती करणनीको प्रयास गरेको बताएकी छन् । 

पछि फेसबुकमा लाइभ आउँदा उनले भनाइ बदलेकी छिन् । उनले गायक साहले आफूलाई हत्या गर्ने प्रयास समेत गरेको आरोप लगाएकी छन् । भनेकी छन्, ‘फेसबुकमा धेरैजनाले रेप भयो भनेर भन्दैछन् । तर त्यो कुरा सही होइन् । मलाई रेप गरेको छैन । हत्या र रेपको प्रयास मात्र गरेको हो।’

यसरी घट्यो घटना

हेटौँडा घर भएकी किरण जनकपुरमा बस्छिन् । आफूलाई मोडल बताउने उनले केहि एलबम निकालेकी छन् । रबिराज पनि गायक भएकाले उनीहरुबीच चिनजान भएको हुनुपर्छ ।

रबिराजले फिल्मको सुटिङ छ भन्दै किरनलाई काठमाडौं आउन भन्यो । उनी घरपरिवारसँग पनि नसोधी जनकपुरबाट फ्लाइटका काठमाडौं पुगिन् । उनलाई काठमाडौं एयरपोर्टमै पुगेर रबिराजले रिसिभ गरे । त्यहाँबाट सिधा आफ्नो कोठा लगे ।

किरण भन्छिन्, ‘रबिराजसँगै कोठामा अन्य मानिस पनि थियो । मैले कहाँ सुत्ने भनेर रबिराजसँग प्रश्न गर्दा एउटै कोठामा बस्ने भन्यो । त्यसपछि मैले बिरामी छु भनेपछि कोठामा राखिएको मदिरा जस्तो देखिने झोल पदार्थ मलाई रविराजले खुवायो । त्यसपछि म बेहोस् हुँदा कुटपिट र जवरजस्ती गर्ने प्रयास ग¥यो ।’

घटना काठमाडौंको कुन ठाउँमा भएको भन्ने जिज्ञासामा किरणले त्यो थाहा नभएको बताएकी छिन् । उनले रबिराजले सुटिङका लागि नभएर गलत व्यवहार गर्न बोलाएको पनि जिकिर गरेकी छिन् ।
 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार १६:३२:४३,   अन्तिम अपडेट : कात्तिक ३०, २०७७ आइतबार १६:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया