प्रचण्ड–राष्ट्रपति भेटः के नेकपा विवादमा आउँदैछ ट्विस्ट ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद थप उत्कर्षमा पुग्ने निश्चित भएको छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढ्दो आरोप प्रत्यारोपका कारण नेकपाको यो विवाद थप उत्कर्षमा पुग्ने भएको हो ।

यी दुई अध्यक्षले एकले अर्कालाई जुन आरोप लगाएका छन्, त्यसको खण्डन नेकपाकै दोस्रो तहका नेताहरुले पनि गर्न थालेका छन् । एकअर्कालाई लेखिएका पत्र र प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा यी दुई नेताहरुले एकअर्कालाई विभिन्न आरोप लगाउँदै आएको स्पष्ट भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी भए पनि कुनै काम नगरेको आरोप लगाएका छन् भने प्रचण्डले अब प्रधानमन्त्रीले मनोमानी गरेकाले त्याग गर्नु पर्ने समय आएको बताएका छन् ।

यहीबीच प्रचण्ड मंगलबार अचानक राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई छलफलका लागि बोलाएकी थिइन् । 

यो भेटबारे अहिलेसम्म कुनै औपचारिक धारणा आएको छैन तर प्रचण्डनिकट स्रोतका अनुसार पछिल्लो राजनीतिक विवादकै विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रचण्डलाई शीतल निवासमा बोलाएकी हुन् ।

पछिल्लो पटक नेकपामा विवाद देखिन थालेपछि राष्ट्रपतिले नेकपाका नेताहरुलाई भेटेको यो चौथो पटक हो । यसअघि उनले नेकपा उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेकी छिन् । 



गौतम र बादलसँगको भेटमा उनले तत्काल पार्टी विवाद समाधान गर्न भूमिका खेल्न अनुरोध गरेकी थिइन् । प्रधानमन्त्री ओलीसँगको भेटमा पनि नेकपा विवादबारे नै चर्चा भएको बालुवाटार स्रोतले फरकधारलाई बताएको छ । 

अब उनको प्रचण्डसँगको भेटले नेकपाको यो विवादमा केही परिवर्तन ल्याउन सक्ने अनुमान गर्न थालिएको छ । तर, प्रचण्डनिकट नेताहरु अहिले प्रचण्ड पक्षले राखेका मागहरु गलत नभएकाले यो भेटले केही असर नगर्ने तर्क पनि गरेका छन् । ‘यसअघि उपाध्यक्ष गौतमसँगको भेटमा पनि राष्ट्रपतिलाई पहिले अध्यक्ष ओली सुध्रिनुपर्छ भन्ने कुरा भएको थियो,’ नेकपामा प्रचण्डनिकट एक नेताले भने, ‘आजको भेटमा पनि उहाँले अध्यक्ष प्रचण्डलाई यही आग्रह गर्नुहुन्छ होला । तर, यसले अहिले तात्विक असर पार्ने देखिँदैन ।’



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १८:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया