ओलीलाई उनीनिकट नेताहरुको सुझावः जसरी हुन्छ सचिवालय बैठक सार्नुस्
फाइल तस्वीर ।

सत्तारुढ दल नेकपामा देखिएको विवादमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले सचिवालय बैठक केही दिनका लागि भए पनि सार्न ओलीलाई सुझाव दिएका छन् । 

मंगलबार अबेर दिउँसो बालुवाटारमा ओलीनिकट नेताहरु नेकपामा अहिले देखिएको विवादबारे छलफल गर्न जुटेका थिए । 

छलफलमा ओलीनिकट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा नेता सुवास नेम्वाङ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु सहभागी थिए । 

बैठकमा सहभागी एक नेताले फरकधारलाई बताए, ‘अहिले पार्टीमा जुन अवस्था देखिएको छ, यस्तो अवस्थामा नेकपा सचिवालय बैठक गर्नु कसैका लागि पनि हितकर हुँदैन भन्ने निष्कर्ष निस्कियो ।’

उनले पहिले दुई अध्यक्ष छलफल गरेर सहमतिको खाका निकालेपछि मात्र भेट गर्नु ठिक हुने बताए । ‘दुई अध्यक्ष बसेर छलफल गरेर सहमतिको खाका निकालेपछि मात्र भेट गर्नु ठिक हुने देखिएको छ,’ उनले फरकधारलाई बताए, ‘त्यसैले हामीले भोलि (बुधबार) बस्ने भनिएको सचिवालय बैठक सार्न सुझाव दिएका छौँ ।’

त्यसो त, ओली यसअघि पनि सचिवालय बैठक सार्ने पक्षमा थिए । उनको यही सन्देश लिएर मंगलबार विहान नेकपा महासचिव विष्णु पौडेल खुमलटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए । तर, त्यो भेटमा प्रचण्डले आफूहरु सचिवालय बैठक सार्ने पक्षमा नभएको बताएका थिए । 



मंगलबार साँझ नै नेकपा अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १९:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया