सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा बुधबार फेरि शीतल निवास पुगेका छन् ।
मंगलबार साँझ मात्र पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटघाट र छलफल भएको थियो । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको साथ र सहयोग खोजिरहेका छन् ।
यसअघि मंगलबार साँझ मात्र राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेकी थिइन् । यो भेटमा उनले प्रचण्डलाई ओलीसँग मिलेर जान अनुरोध गरेकी थिइन् ।
प्रचण्ड शीतल निवासबाट निस्किएपछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । त्योबीचमा उनले चिनियाँ राजदूत हाउ यान्छीलाई भेट गरेका थिए ।
आज विहान राष्ट्रपति कहाँ प्रधानमन्त्री ओली पुग्नुलाई नेकपाको राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । आज दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्दै छ । त्यस लगत्तै २ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नेकपामा विवाद बढ्दै जाँदा सचिवालयमा पनि एक्लिएका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको यो भेटपछि कुनै कडा कदम चाल्ने हुन् कि भन्ने अनुमान पनि गरिँदै आएको छ । यो अनुमान किन पनि गरिएको हो भने यसअघि सचिवालय बैठक र आफूनिकट नेताहरुसँग प्रधानमन्त्री ओलीले आफूलाई एक्सट्रिम स्टेप चाल्न बाध्य नपार्न चेतावनी दिँदै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।