पुटिनविरुद्ध अब आजीवन मुद्दा हाल्न नपाइने

रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई पारित गरेको छ । यो विधेयकअनुसार अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध कसैले पनि आपराधिक मुद्दा दर्ता गर्न पाउने छैन । 

यो रुसी संविधानको संशोधनमध्ये एक विधेयक हो जसलाई जुलाईमा भएको एक जनमतसंग्रहमा सहमति दिइएको थियो ।

पुटिनको अहिले रुसी संसदका दुवै सदनमा बहुमत रहेको छ । 

पुटिनको राष्ट्रपति कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर, अब भएको संविधान संशोधनपछि पुटिन सन् २०२४ पछि पनि १२ वर्षका लागि राष्ट्रपति पदमा नै रहन पाउने छन् । 

यो विधेयकबारे अब रुसमा निकै ठूलो चर्चा सुरु भएको छ । सन् २००० देखि रुसको सत्तामा रहेको पुटिनले योबीचमा आफ्नो शक्ति निकै प्रयोग गरेका छन् ।

अनि उनले आलोचकहरुलाई सजाय पनि दिँदै आएका छन् । पुटिनका आलोचकमध्येका एक एलेक्सी नभेलनीले यो विधेयक आएपछि विरोध जनाएका छन् । उनले ट्विट गरेका छन्, ‘अब पुटिनलाई बचाउनका लागि एक विधेयकको आवश्यक रहेको छ ।’



उनले अर्को एक ट्विट गर्दै प्रश्न सोधेका छन्, ‘के तानाशाहले जतिबेला चाह्यो, त्यति बेला पद छोड्न पाउँछन् ?’

रुसी संविधानअनुसार यो विधेयकलाई डूमामा तीन पटक पारित गर्नु पर्ने हुन्छ । मंगलबार यो पहिलो पटक त्यहाँ पारित गरिएको छ । सदनमा पुटिनको समर्थक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ । तर, वामपन्थी ३७ सांसदले भने यसको विरोध गरेका छन् । 



यो नयाँ इम्युनिटी विधेयकअनुसार पूर्वराष्ट्रपति तथा उनका परिवारका कोही पनि सदस्यलाई प्रहरीले अब सोधपुछ गर्न पाउने छैन । साथै, उनीहरुको सम्पत्ति जफत गर्न पनि पाइने छैन । 

त्यस्तै, त्यहाँ अब पूर्वराष्ट्रपतिविरुद्ध कुनै पनि मुद्दा पनि चलाउन पाइने छैन । अहिले रुसमा पुटिनकै सहयोगी दमित्री मेदवेदेव मात्र अर्का एक पूर्वराष्ट्रपति जीवित रहेका छन् ।

यसअघि अर्को विधेयक ल्याउँदा पुटिन आजीवन राष्ट्रपति बन्न चाहेको भन्दै आलोचना भएको थियो । तर, पुटिनले यो आरोप खारेज गर्दै आएका छन् ।

  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार ११:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया