अब जोखिम मापन गरी प्रत्यक्ष विद्यालय सञ्चालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना जोखिम नभएका र कम हुँदै जाने स्थानिय तहमा विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार पारेको छ ।  मन्त्रालयले आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । 

हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो । 

कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । 

कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ । 

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदै छ । 



सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशंका पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।



  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १३:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया