भानुचोकमा कहिलेसम्म हिलोधुलो ?

‘चोकको धुलोहिलो थेग्न लागेको चार–पाँच वर्षै भो । आङका लुगादेखि पसलका सरसामानसम्म धुलैधुलो हुन्छन् । बर्खाको हिलो र हिउँदको धुलोले सरसामानदेखि स्वास्थ्यसम्म खराब पारेको छ । हाम्रा समस्याको मतलब कसैलाई छैन । यो चोक बनाउने चासो र चिन्ता कसैलाई  छैन  ।’

यो भनाइ घोराहीको तुलसीपुर चोक अर्थात् अहिलेको भानुचोक छेउका व्यापारी कृष्ण गिरीको हो । तुलसीपुर चोकमा वरिपरिका बसोबासी र व्यापारीहरूले खेप्दै आइरहेको पीडा सबैको यही नै हो । धुलाम्ये तुलसीपुर चोकको निर्माणमा कसैको चाँसो नहुँदा स्थानीयबासी र व्यापारीले चोकको कष्ट खेप्नु परिरहेको छ ।

तुलसीपुर चोक घोराही बजारको केन्द्र बिन्दु नै हो । जो अहिले खाल्टैखाल्टा र धुलो हिलोले भरिएको छ । जसले घोराही बजारको सुन्दरतालाई कुरुप पारेको छ । बजारको सुन्दरतासँगै नागरिकको स्वास्थ्यमा समेत ठूलो असर पारेको गिरीको भनाइ छ । ‘७३ सालदेखि चोकको हालत उस्तै छ’, गिरीले भने, ‘चोकको हालत र नागरिकको दुःख कसैले देखेका छैनन् ।’

‘पानी छर्किएरै भए पनि धुलो त मारिदेऊ सरकार !’

‘पैदल यात्रीदेखि सवारी साधनको चाप उस्तै, बिहानैदेखि उड्ने धुलो रातिसम्म उडिरहन्छ । होटलका खाने कुरादेखि हाम्रा नाकका प्वालसम्म धुलोले रङ्गाएको हुन्छ । धुलोको आहत अति छ । सरकारले पक्की गर्न नसके पनि धुलो मारिदिए त हुने थियो त्यो पनि छैन । सातादिन जति भयो । अति नै धुलो उड्न थालेपछि आफैंले पैसा उठाउँदै पानी छर्किन बाध्य छौं’, स्थानीय गिरीले थपे, ‘मन्त्रीदेखि हाकिमसम्म धुलो उडाउँदै यही चोकबाट हुक्किन्छन् । चोक र धुलोको हाम्रो पीडा कसैले देख्दैनन् ।’ 

आर्थिक वर्ष ०७२/७३ देखि निर्माणाधीन अवस्थामा अलपत्र परेको तुलसीपुर चोकको निर्माण ठप्प हुँदा स्थानीयहरू बाध्य भई आफैंले चोकमा पानी छर्किंदै धुलो मार्न बाध्य भइरहेको उनको दुखेसो छ ।



अलपत्र चोकको निर्माणका लागि चासो नभए पनि धुलो मार्न समेत स्थानीय सरकार र सम्बन्धित कार्यालय नसक्दा बाध्य भई दिनहुँ पैसा तिर्दै व्यापारी आफैंले सडकमा पानी छर्किनु परिरहेको उनले बताए । उनले प्रश्न गरे, ‘हामीले पैसा उठाउँदै कतिदिन धुलो मार्ने हो सरकार ?’ धुलाम्ये चोकका कारण दैनिक व्यापारीहरूले पैसा उठाउँदै धुलो मार्न पानी छर्किनु रहनुपरेको छ ।

‘व्यापारीले दुःख पाए !’



‘चोक बनाउने ध्यान सरकारको छैन । अलपत्र परेको वर्षौं भयो । चोकको हालत उस्तै छ । चोकको नाम फेरिरहन्छ । काम उस्तै छ । जसको मारमा व्यापारीहरू परेका छन् । दिनभर धुलो खाँदै व्यापार चलाउनु परिरहेको छ । यो दुःख  राज्यले देख्दैनन्’, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले भने, ‘चोक र व्यापारीको हालत सरकारले अझै देखेन । मन्त्री पनि यही बाटो हिँड्छन्, बिरामीको एम्बुलेन्स सुस्त चल्छन् चोकमा, दुःख सबैलाई छ । तर चासो कसैलाई छैन ।’ जसका कारण चोकको बिजोक छ । 

‘मुद्दाले अल्झायो’

आर्थिक वर्ष २०७२/७३ देखि तुलसीपुर चोकको निर्माण थालनी भएको हो । व्यक्तिगत जग्गा सडकले च्यापेको भन्दै मुद्दा पर्‍यो । सडक निर्माणका काम रोकिएको जसका कारण अझै काम पूरा हुन सकेको छैन । जसका कारण हिलोधुलोको मार सबैले खेप्नु परेको छ । मुद्दाले अझै निकास पाउन नसके पनि नागरिकको स्वास्थ्यलाई ख्यालमा राख्दै सडक डिभिजन कार्यालय जसोतसो अब काम गर्ने गरी ठेक्का आह्वान गरेको छ ।

‘अब केही महिनामा तुलसीपुर चोकको निर्माण सम्पन्न हुन्छ’, सडक डिभिजन दाङका निमित्त प्रमुख अमित सुवेदीले भने– ‘तत्काल काम गर्ने गरी कार्यालयले ठेक्का आह्वान गरिसकेको छ । अबको तीन महिनामा कार्यालयले तुलसीपुर चोक पूरा गर्नेछ ।’ जसका प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए । तिहारअघि नै ठेक्का आह्वान गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १६:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया