प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने– परिस्थिति निकै गम्भीर छ

पछिल्लो समय देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्काल समाधान हुने देखिँदैन । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आरोपप्रत्यारोप अझै समाधान हुने दिशामा बढेको छैन । 

स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले आफ्नो सन्देश लिएर नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न विभिन्न नेताहरुलाई पठाएका छन् । यही सिलसिलामा शुक्रबार दिउँसो पार्टी कार्यालयमा प्रचण्डसँग भेट्न पुगेका थिए, नेकपा महासचिव विष्णु पौडेल । प्रचण्डसँग पौडेलले समसामयिक विषयमा कुराकानी गरेको प्रचण्डका प्रेस संयोजक विष्णु पौडेल जुगलले फरकधारलाई जानकारी दिए ।

‘पार्टीमा अहिले जुन विवाद देखिएको छ, त्यसलाई नै समाधान गर्न यो बैठक पनि केन्द्रित भएको थियो,’ पौडेलले टेलिफोनमा भने, ‘अरु धेरै विषयमा कुराकानी भएन ।’

प्रचण्डसँग भेट पछि बाहिर निस्किएका पौडेल चाहिँ पार्टीमा निकै ठूलो समस्या देखिएको र यसले पार्टीलाई थप समस्यामा लगिएको प्रतिक्रिया दिइरहेका थिए । 

पार्टी कार्यालयमा नै पत्रकारहरुसँगको संक्षिप्त भेटमा नेकपा महासचिव पौडेलले भने, ‘अहिले परिस्थिति निकै गम्भीर छ ।’

नेकपामा दुई अध्यक्षबीच देखिएको विवाद मिलाउन पछिल्लो समय नेकपा महासचिव पौडेल निकै लागिपरेका छन् । यसअघि बुधबार भएको नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा पनि उनी नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । 



‘पार्टीमा गम्भीर समस्या देखियो, त्यसलाई दुई अध्यक्षले बसेर हल गर्नुपर्छ, छलफल र सहमतिबाट अगाडि बढ्नु पर्छ भन्ने सन्देश लिएर म त्यहाँ गएको थिएँ,’ पौडेलले बुधबार फरकधारसँग भनेका थिए, ‘दुवै अध्यक्ष अहिले पार्टीमा समस्या देखिएको कुराबारे जानकार हुनुहुन्छ र दुवै जना अहिलेको समस्या हल गर्नुको विकल्प नभएको पनि हुनुहुन्छ ।’

बुधबारको सचिवालय बैठकमा नेकपा महासचिव पौडेलले अर्को एक प्रस्ताव राखेका थिए । त्यो प्रस्तावबारे बुधबार साँझ फरकधारसँग पौडेलले भनेका थिए, ‘हो, मैले राजीनामा दिएर अगाडि बढौँ भनेको हुँ । पार्टी सचिवालय समस्या हल गर्नका लागि बनेको भए पनि पछिल्लो समय सचिवलायकै कारण बारम्बार विवाद निस्किएको छ, त्यसलाई समाधान गर्न कि हामी सबैले राजीनामा दिने त भन्ने प्रस्ताव मैले राखेँ ।’



शुक्रबार पार्टी कार्यालय धूमबराहीमा अध्यक्ष प्रचण्डसँग भेटपछि पनि पौडेलले अहिलेको अवस्था गम्भीर भएको बताएका छन् । 

उता, उनी पार्टी कार्यालयबाट निस्किए लगत्तै नेकपा अध्यक्ष प्रचण्ड नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँगको छलफलमा जुटेका छन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १४:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया